एमालेको बागडोर अर्को पाँच वर्ष ओलीको हातमा

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व, पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्दै सकिएको छ । १० मंसिरमा चितवनमा सुरु भएको महाधिवेशन १४ मंसिर (मंगलबार) सकिएको हो । मंसिर १० देखि १२ गतेका लागि तय भएको महाधिवेशन दुई दिन ढिलो गरी सकिएको हो । नेतृत्व लगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुमा सहमति नजुट्दा निर्वाचन गर्नुपरेको थियो । मंगलबार साँझ प्रकाशित मत परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली पुनः विजयी भएका छन् । ओलीले १८ सय ४० मत ल्याए । ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका भीम रावलले २२० मतमात्र ल्याउन सके । ३६ जना प्रतिनिधिले नो भोट रोजेका थिए ।
ओली एमाले अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका हुन् । यसअघि नवौं महाधिवेशनमा उनी माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष बनेका थिए । नेपालले अहिले एमालेबाट अलग भएर नयाँ पार्टी खोलिसकेका छन् । महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, युवराज ज्ञवाली र रामबहादुर थापा विजयी भएका हुन् । घनश्याम भुसाल भने उपाध्यक्ष पराजित भएका छन्। उनले ७२५ मत पाएका छन् । उपाध्यक्षमा सबैभन्दा धेरै मत अष्टलक्ष्मी शाक्यले पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डे छन् । सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भए । भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । सचिवमा गोकर्ण विष्टले सबैभन्दा बढी १९७६ मत ल्याए । एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव गरी ५ जना पदाधिकारी भने निर्विरोध निर्वाचिन भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन् ।महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । विजयी पदाधिकारी र केन्द्रीय सदस्यहरुले महाधिवेशन स्थलमै पार्टीको निर्वाचन आयोगबाट शपथ लिएका छन् । शपथपछि केन्द्रीय कमिटीको पहिलो बैठक पनि बसेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्