प्रधानन्यायाधीशविरुद्ध आज ‘बालुवाटार न्याय मार्च’

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानबिन गर्न माग गर्दै वृहत् नागरिक आन्दोलन र नेपाल बारसहित आठवटा पेसागत संगठनले संयुक्त र्‍याली गर्ने भएका छन् । बिहीबार दिउँसो २ बजे उनीहरूको र्‍याली सर्वोच्च अदालतबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म पुग्ने छ । र्‍यालीमा बृहत् नागरिक आन्दोलन, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक संघ, नेपाल इञ्जिनियर्स एसोसिएसन, नेपाल आदिवासी जनजाति महासंघ लगायत सहभागी हुनेछन् । प्रधानन्यायाधीश जबरामाथि न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसारको फैसला गर्न लगाएको, मन्त्रिपरिषद सदस्यको भागबण्डामासमेत मुछिएको लगायतका आरोप लाग्दै आएको छ । तर राजनीतिक दलका नेताहरू यस विषयमा मौन बसेका छन् । राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराउन पनि आज बालुवाटार न्याय मार्च आयोजना गरिएको पेशागत संगठनका अगुवाहरुले बताएका छन् । एक महिना अघिदेखि प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुले उनको राजीनामालाई बटमलाइन बनाएका छन् । सर्वोच्चका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराविरुद्ध उभिएका छन् । आन्दोलनको परिणामस्वरुप प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने निर्णय गरिएको छ । गोला प्रक्रियाबाट इजलास तोक्ने निर्णय कार्याव्यन कहिलेदेखि सुरु गर्ने भनेर निर्णय गर्न आज सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बस्दै छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्