बारको बटमलाइन प्रधानन्यायाधीशको राजीनामा

Machchapuchchre

अर्थ  राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै २ सातायता आन्दोलनरत नेपाल बार एसोसिएसनले आगामी रणनीति तयार गर्न इकाई बारसँग छलफल थालेको छ । आइतबार देशैभरका ९० वटा इकाई बारका पदाधिकारीसँग छलफल सुरु गरिएको नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले बताइन् । न्यायालय सुधारको माग गर्दै आन्दोलनमा होमिएको नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामाबाट मात्रै न्यायालयको सुधार सम्भव भएको यसअघि नै निष्कर्ष निकालिसकेको छ । गत बुधबारसम्म सर्वोच्च अदालत परिसरमै धर्ना दिएका बारका सदस्यहरु आन्दोलनलाई कसरी अगाडि लैजाने भन्दै देशैभरका इकाई बारसँग छलफल गर्न लागेका हुन् । नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार यतिबेला देशैभर रहेका ९० वटा इकाई बारमध्ये ६० वटा इकाई बारका पदाधिकारीहरु भर्चुअल मिटिङमा जोडिएका छन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायतका पदाधिकारी र सदस्यहरु यतिबेला इकाई बारसँग छलफलमा जुटेका हुन् । अहिले इकाई बारका अध्यक्ष वा पदाधिकारीले आ–आफ्ना धारणा राखिरहेका छन् । बिहान साढे १० बजेदेखि सुरु भएको भर्चुअल मिटिङमा सहभागीहरुले आन्दोलनलाई थप शसक्त बनाएर लैजानुपर्ने र नेपाल बार एसोसिएसनले गरिरहेको आन्दोलनमा साथ रहेको प्रतिवद्धता समेत जनाएको उपाध्यक्ष बस्यालले बताइन् । आवश्यक पर्दा उच्च र जिल्ला अदालतमा समेत बहस बहिष्कार गर्नेसम्मका सुझाव आएको बस्यालले बताइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्