अर्थ राजनीति ~ सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने प्रष्टयाएको हो । बैठकले केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराएको छ । ‘जे निर्धारित समयका लागि केन्द्रिय महाधिवेशन निर्धारण गरेका छौं । त्यसबारेमा अहिले कसैलाई कुनै कन्फ्यूजन नराख्नका लागि र बैठकमा महाधिवेशन मंसिरबाट अलि पछाडि जाने होकि कसैले प्रस्ताव पो राख्नुभयो कि भनेर खासगरी महामन्त्रीज्यूको नाम भनेर पनि आयो,’ बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, ‘त्यो प्रकारको विषयमा अहिले हामी गएका छैनौं । त्यो प्रकारको विषयमा जानुपर्ने खण्ड आयो भने पनि केन्द्रीय समितिमा हामी विधिवत रुपमा जान्छौं ।’ बैठकले शनिबार निर्धारित समयमै पार्टीको पालिका स्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । हिमाली जिल्लालगायत कतिपय जिल्लामा पालिका स्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्य समितिको भावना अनुसार केन्द्रीय निर्वाचन समितिबाट अनूमति लिएर गर्नसक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठकले बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यता सम्बन्धी विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता शर्माका अनुसार पार्टीको महाधिवेशनका लागि आवश्यक संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा महाधिवेशनको प्रचारका लागि आवश्यक निर्णय लिन छिट्टै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि कांग्रेसले गरेको छ ।
” कांग्रेसको १४औं महाधिवेशनको मिति सर्दैन, परे छलफल हुन्छ ” : प्रवक्ता शर्मा
