एमालेलाई बहुमतप्राप्त पहिलो शक्ति बनाउने ओलीको तयारी

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मुलुकको बहुमतप्राप्त पहिलो शक्ति बनाउने घोषणा गरेका छन् । हालै सम्पन्न स्थायी समिति बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन मस्यौदामा पार्टीलाई बहुमतप्राप्त मुलुकको पहिलो शक्ति बनाउने र राज्य सञ्चालनको केन्द्र भागमा पुनर्स्थापित गर्ने उल्लेख गरेका हुन् । मस्यौदाको ‘आगामी कार्यभार’, उपशीर्षकमा ओलीले २०७४ फागुन ३ गते आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन हुँदाको उत्साहपूर्ण माहौल, नयाँ प्रणाली संविधानतः संस्थागत हुँदै गरेको अवस्था, बहुमतको सरकारले खडा गरेको राजनीतिक स्थिरताको आधार सुरुवात हुँदै गरेको समृद्धिको आज विराम लागेको उल्लेख गरेका छन् । ओलीले आफ्नो नेतृत्वको सरकार विस्थापन भएपछि ‘नयाँ युगतर्फको यात्रा गन्तव्यहीन हुन पुगेको दाबी गरेका छन् ।‘सरकार बदल्ने मात्र होइन, पछिल्ला राजनीतिक घटनाक्रमहरूको अन्तर्निहित उद्देश्य विगत केही वर्षको अथक प्रयासबाट तयार गरिएको र अगाडी बढाइएको राष्ट्रिय हितको रक्षा र स्वाभिमान वृद्धिका उपलब्धिलाई उल्ट्याउने कुरामा केन्द्रित छ’, अध्यक्ष ओलीले भनेका छन् । साथै उनले लोकतन्त्रको सुदृढीकरण र यसलाई जनताको जीवनसँग जोड्ने अभियानलाई असफल बनाउने उद्देश्यमा लक्षित रहेको उल्लेख गरेका छन् ।  ओलीले आफ्नो प्रतिवेदनमा पार्टीलाई राज्य सञ्चालनको केन्द्र भागमा पुनःस्थापित गर्ने उपशीर्षकमा ‘पार्टीलाई वैचारिक रूपले सुस्पष्ट, सङ्गठनात्मक दृष्टिले चुस्त र सुदृढ, भावनात्मक रूपमा एकताबद्ध, जनतासँग घनिष्ठ रूपमा आबद्ध मुलुकको बहुमतप्राप्त पहिलो शक्ति बनाउने’ उल्लेख गरेका छन् । नौ बुँदामा ओलीले विभाजनको असर न्यून पार्न भ्रममा रहेका साथीहरूलाई पार्टीमा फर्काउने, विभाजनकारीका अवसरवादी र जनविरोधी क्रियाकलापबारे जनतामा स्पष्ट पार्ने तथा गुटबन्दी, भ्रष्टता र सांस्कृतिक विचलनका विरुद्ध शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन गर्ने लगायत रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्