पूर्णरुपमा असफल साबित भएका मेयर शाक्य

Machchapuchchre

अर्थ राजनीति  ~  चुनावी घोषणापत्रबाटै नगरबासीसँग मनोरेल, सिटी केबलकार, स्मार्ट सिटी जस्ता ठुला शहरी पूर्वाधारहरु विकासको बाचा गरेका विद्यासुन्दर शाक्य काठमाडौं महानगरको मेयरको कार्यकालकै अन्तिमतिर पुगिसक्दा ती योजना कार्यान्वयनमा भने पूर्णरुपमा असफल साबित भएका छन्। निर्वाचित भएको चार वर्षभन्दा बढी समय बितिसक्दा देशको सबैभन्दा ठूलो महानगरका बासिन्दालाई भोटका लागि सपना देखाएका एउटा पनि ठुला पूर्वाधार योजना उनले कार्यान्वयनमा लैजान सकेनन्। मेयरको जिम्मेवारी सम्हालेको सय दिनमा १०१ गरिसक्ने भनेर कामहरुको सूची नै शाक्यले सार्वजनिक गरेका थिए। तर शाक्यले उनको कार्यकालमा महानगरबासीले परिवर्तन महसुस गर्ने गरी काम अहिलेसम्म गर्न सकेका छैनन्। यतिसम्म कि उनले सय दिनमा गर्ने भनेकामध्ये ९० प्रतिशतभन्दा बढी योजनामा सिन्को भाँच्न पनि सकेनन्। सय दिनमा मिनी असन बनाउनेदेखि गजबको चुलोसम्मका नगरबासीसँग प्रत्यक्ष जोडिने योजनाका सपना पनि बाँडेका थिए। तर काठमाडौं महानगरलाई सुधार गर्न त के उल्टो अस्तव्यस्त बनाएको आरोप उनलाई लाग्न गरेको छ। महानगरलाई स्वच्छ र सफा बनाउन मेयरको जिम्मेवारी सम्हालेपछिको पहिलो निर्णयस्वरुप ‘क्लिन द सिटी’ अभियान घोषणा गरेका शाक्यले कार्यकालको अन्तिम केही महिना मात्र बाँकी रहँदा फोहोरमैलाको दिगो व्यवस्थापनमा कामै गर्न सकेका छैनन्।  २०७४ वैशाखमा शाक्य मेयरमा निर्वाचित भएयता कैयन् पटक काठमाडौंका सडकहरुमा लामो समय फोहोरको डंगुर थुप्रिएर दुर्गन्धित बनेको छ। पछिल्लो समय पनि सिसडोलबासीले फोहोरमैला डम्पिङ गर्न अवरोध गर्दा कैयौं दिन काठमाडौंबाट फोहोर उठ्न सकेको थिएन। मेयरले नगरको शहरी पूर्वाधारदेखि नगरबासीलाई दिनुपर्ने प्रशासनिक सेवा सुविधा प्रवाह स्तरीय बनाएर शहरलाई बस्नयोग्य बनाउने गरी काम गर्नु मुख्य जिम्मेवारी हो। देशकै ठूलो महानगर र राजधानी शहर समेत भएकाले काठमाडौंका मेयरको हकमा यो भूमिका अझ बढी रहेको छ। तर यसको नेतृत्व गरेका शाक्य ठुला-ठुला चुनावी घोषणा गरे पनि कार्यान्वयनमा भने फिक्का देखिएका छन्। यसका बाबजुद उनले भने आफू फेल नभएको जिकिर गर्दैछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्