दीपक मनाङेले सम्पत्ति विवरण नबुझाएकोप्रति एमाले सांसदले मागे जवाफ

Machchapuchchre

अर्थ राजनीति  ~  गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सम्पत्ति विवरण नबुझाएको विषयमा नेकपा एमालेका सांसद कृष्ण थापाले प्रदेशसभामा जवाफ मागेका छन् । मन्त्री मनाङेले आफ्नो लगानी युवाहरुलाई गरेको र त्यो आउन बाँकी रहेको बताएको भन्दै सांसद थापाले त्यसको वास्तविकता सभामार्फत जानकारी दिन माग गरेका हुन् । मन्त्री मनाङेले ‘मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु । मेरो के छ ? के छैन ? जम्मै पहिलेको छोराछोरी, श्रीमतीको नाममा राखिदिइसकेको छु । मेरो भनौं भने मलाई एक आना जग्गा दिने पनि होइनन्,’ भनेका थिए । एमाले सांसद कृष्ण थापाले भ्रष्टाचार नियन्त्रण ऐन २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ बमोजिम सम्पत्ति वितरण राजकीय पदमा जाने जो कोहीले पनि ६० दिनभित्र बुझाउनुपर्ने बताए । प्रदेश सरकार आफैंले बनाएको आचारसंहितामा पनि ६० दिनभित्र विवरण बुझाउनुपर्ने उल्लेख रहेको उनले स्मरण गराए । मन्त्री मनाङले ‘केटा’हरुलाई थुप्रै लगानी गरिदिएको तर, त्यताबाट फिर्ता नआउँदा सम्पत्ति विवरण सार्वजनिक गर्न नसकेको सुनाएका थिए । ‘पहिले बिजनेस गर्दा केटाहरुलाई लगानी गर्देको छु । धेरै यस्तो पैसा छ, जुन मसँग आएको छैन,’ उनले भनेका थिए, ‘आउनेवाला छ भनेर लेख्न पनि गाह्रो, मेरो नाममा केही छैन । जे छ ५६ साल अगाडिको कुरो हो ।’ मनाङेले यसअघि पनि २०७० सालमा अवैध सम्पत्ति राखेको आरोपमा मुद्दा खेपेका थिए । तर, २०७४ सालमा विशेष अदालतबाट सफाइ पाएका थिए । उनले आफूमाथि प्रहरीले ‘रिस’ गरेर पहिलो पटक ‘मनी लाउन्ड्री’ मुद्दा लगाएको आरोप लगाएका थिए । गण्डकी प्रदेश सरकारका कृषिमन्त्री चन्द्र बुढामगर ‘सागर’ले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । साउन ८ गते सपथ खाएका मगरको अझै ६० दिन पुग्न भने बाँकी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्