पशुपतिमा अख्तियार : सुनको जलहरीमा भ्रष्टाचारको गन्ध

Machchapuchchre

अर्थ राजनीति  ~  विगतमा राजाहरूले आफ्नो सम्बोधनको अन्त्यमा ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्थे । भ्रष्टाचारीको मुख नहेर्ने घोषणा गरेका पूर्ववर्ती कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाँदा चाँदीको जलहरी हटाई सुनको जलहरी राख्ने निर्देशन दिए । तर, जलहरी सुनको बनाए पनि मन सफा नभएपछि यतिबेला पशुपतिनाथको मुटुमा रहेको जलहरीमा भ्रष्टाचारको गन्ध आएको छ । हिन्दूहरुको पवित्र धार्मिकस्थल पशुपतिनाथमा अहिले अख्तियार पसेको छ । मन्दिरमा सुनको जलहरी बनाउँदा करिब ११ किलो सुन घोटाला भएको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको हो । पुरानो चाँदीको जलहरी हटाएर तयार गरिएको सुनको नयाँ जलहरी २०७७ फागुन १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । २०७७ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गर्न जाँदा सुनको जलहरी राख्न निर्देशन दिएका थिए । त्यसपछि कोषले १०८ केजी सुनको जलहरी राख्ने प्रक्रिया अगाडि बढाएको थियो । जलहरी बनाउन पशुपति विकास कोषले राष्ट्र बैङ्कबाट १०३ किलो सुन किनेको थियो । २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउन त्यसमा ३ प्रतिशत तामा र १ प्रतिशत चाँदी मिसाएको कोषको अभिलेखमा उल्लेख छ । त्यो सहित २२ क्यारेटको १०८ केजी सुनको जलहरी तयार पारियो तर, कोषको रेकर्डमा भने जलहरी बनाएको सुनको परिमाण ९६ केजी ८२२ ग्राम भएको मुचुल्का उठाइएको थियो । जलहरी बनाएर बाँकी रहेको ११ किलो सुन गोलमाल भएको भन्दै अख्तियारमा उजुरी परेको हो । २०७८ असार २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीमा भनिएको छ, ‘जलहरी बनाउँदा ९७ किलो मात्र सुन खपत भएको निर्माण सम्पन्न मुचुल्कामा उल्लेख गरिएको छ । तर, भोलिपल्ट राष्ट्रपतिद्वारा गरिएको उद्घाटन कार्यक्रममा १०८ किलो सुन लागेको भनेर सार्वजनिक गरिएको थियो ।’२०७७ फागुन ११ मा राति निर्माण सम्पन्न गरी मुचुल्का उठाएको र सार्वजनिक कार्यक्रममा दाबी गरिएको सुनको परिमाणमा फरक परेको उजुरीकर्ता जिकिर गरेका छन् । सुन घोटालाबारे अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले बताए । ‘पशुपतिनाथको विषय अनुसन्धानको क्रममा छ,’ उनले भने–‘जति परिणामको बन्ने भनियो, त्योअनुसार भएन भन्ने सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको अवस्था छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्