अधिवेशन अन्त्यको विरोध गर्ने , सभामुखले झुक्याए – उपनेता नेम्वाङ

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले झुक्याएको बताएका छन् । मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकमा एमाले नेता नेम्वाङले सभामुख सापकोटासँग भएको एउटा भेटबारे ब्रिफिङ गरे । ‘हामीले सभामुखलाई भेटेर अफगानिस्तानमा रहेका नेपालीको चाँडो उद्धार गर्न सरकारलाई ध्यानाकर्षण गराउन भनेका थियौं’ नेम्वाङले बैठकमा सुनाए, ‘उहाँले भोलि सरकारको प्रतिनिधिलाई संसदमा उपस्थित गराउँछु भन्नुभयो, तर गोजीमा संसद अधिवेशन अन्त्यको सूचना बोकेर बस्नुभएको रहेछ, हामीलाई झुक्याउनुभयो ।’ ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बसेको एमाले स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरुले सरकारबाट भएको संसद अधिवेशन अन्त्यको विरोध गरेका थिए । एमालेले संसदमा दह्रो आवाज उठाउन थालेपछि सरकारले संसदलाई छल्नका लागि अधिवेशन अन्त्य गरेको हाम्रो विश्लेषण थियो । ‘सडक, संसद र सबैतिरबाट देशी विदेशी शक्तिहरुले एमालेलाई सिध्याउन खोजिरहेका छन्,’  उनले  भने, ‘संसदलाई छलेर एमालेलाई कमजोर बनाउन खोजिएको हो, यसको प्रतिवाद गर्नुपर्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्