अनशनरत भूतपूर्व गोरखा सैनिकहरूलाई हतोत्साही नगर्न नेता रावलको आग्रह

Machchapuchchre

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भिमबहादुर रावलले सरकारले बेलायतमा अनशनरत पूर्वगोरखा सैनिकहरूलाई हतोत्साही गर्ने गतिविधि गरिरहेको आरोप लगाए । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उपाध्यक्ष रावलले सरकारले भूतपूर्व गोरखाहरूको माग पुरा गराउनका लागि कूटनीतिक पहल गर्दै उनीहरूको जीवन रक्षा गर्न सरकारले पहल गर्नुपर्नेमा परराष्ट्र मन्त्रालयले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई लेखेको पत्रमा गोर्खाहरू आमरण अनशन बस्नुपर्ने होइन भनेर लेखिएको भन्दै आपत्ति जनाए । उनले पूर्वगोरखाहरूको हकहितको निम्ति सरकार अग्रसर हुनुपर्नेमा उल्टै हतोत्साहित गराएको बताए । उनले भने, ‘नेपाल सरकारले आफ्नो विदेशस्थित नागरिकहरूको हक हितको सम्बन्धमा तत्काल आवाज उठाउनुपर्नेमा हालै परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जानकारी गराइएको एउटा पत्रमा उल्टै पूर्वगोर्खाहरूले यसरी आमरण अनशन गर्नु सुहाउने कुरा होइन भनेर पत्र पठाएको देख्दा स्वयं अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा काम गर्ने हामी त्यसका सदस्यहरू लज्जित भएका छौँ । आफ्ना देशका नागरिकहरूका बारेमा जोडदार रुपमा आवाज उठाउनी र उनीहरूको हक, हितको लागि सरकार अग्रसर हुनुपर्नेमा त्यतातर्फ ध्यान नदिएर उल्टै आफ्नो न्यायोचित माग उठाउने भूतपूर्व गोरखाहरूलाई हतोत्साहित गर्ने प्रकारका गतिविधि गरिनु अत्यन्त खेदजनक कुरा हो ।’
उपाध्यक्ष रावलले भूतपूर्व गोरखाहरू १० दिनदेखि आमरण अनशन बसिरहेकाले स्वास्थ्यस्थिति बिग्रिएको भन्दै तत्काल उच्चस्तरीय वार्ता समिति गठन गरेर बेलायत सरकारसँग वार्ता गर्न पनि सरकारलाई सचेत गराए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्