महासचिव बैद्य : ” राजनीतिक दलहरू मात्र नभई संसदीय व्यवस्था नै असफल “

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा (क्रान्तिकारी माओवादी) ले संसदवादी तथा संशोधनवादी राजनीतिक दलहरू मात्र नभई संसदीय व्यवस्था नै असफल बन्दै गएको कुराका परिणाम हुन् भन्ने निष्कर्ष निकालेको छ । महासचिव मोहन वैद्य ‘किरण’को अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समिति बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा महासचिव किरणले अहिले विकसित हुँदै गइरहेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थिति, पार्टी कामको समीक्षा र आगामी कामको दिशा सम्बन्धी विषयमा आधारित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रतिवेदनलाई परिमार्जनसहित सर्वसम्मत रूपमा पारित गरेको छ । ‘कम्युनिस्ट नामधारी डबल नेकपाभित्रको अन्तरकलह, दुई–दुई पटकको संसद् विघटन तथा पुनर्स्थापना, अदालतको परमादेशद्वारा पार्टीको विखण्डन तथा देउवा गठबन्धन सरकारको निर्माण, आकाङ्क्षी धेरै भएर मन्त्रीहरू नियुक्त गर्न नसकेको स्थिति र गठबन्धनभित्र बढ्दै गएको कचिङ्गल आदि नेपालमा संसदवादी तथा संशोधनवादी राजनीतिक दलहरू मात्र नभई संसदीय व्यवस्था नै असफल बन्दै गएको कुराका परिणाम हुन् भन्ने निष्कर्ष निकालिएको छ,’ उक्त प्रतिवेदनमा भनिएको छ । उक्त प्रतिवेदनमा महँगी, चरम बेरोजगारी, अभाव तथा गरिबी, भ्रष्टाचार, कमिसनतन्त्र, देशी तथा विदेशी प्रतिक्रियावादीको शोषण, उत्पीडन तथा हस्तक्षेप आदिका कारण मजदुर, किसान तथा निम्न पुँजीपति वर्गसहित आम जनताका आजीविकाका समस्या अत्यन्तै भयावह र विकराल बन्दै गएको कुरा औँल्याउँदै ओली सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारा पुरै उदाङ्गो बन्न गएको र शेरबहादुर देउवा पनि यही सङ्कटग्रस्त व्यवस्थाको असफल प्रतिनिधि हुनाले वर्तमान गठबन्धन सरकारबाट पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको समस्या हल हुन नसक्ने कुराको ठोकुवा गरिएको छ । पार्टीले पहिल्यैदेखि उठाउँदै आएको पहिचान सहितको सङ्घीयता र स्वायत्त शासनको मागलाई लत्याएर भूगोलका आधारमा सङ्घीय संरचना निर्माण गर्ने वर्तमान प्रतिक्रियावादी व्यवस्थाले गरेको अन्यायपूर्ण निर्णयको विरोध गर्दै पार्टीले उक्त मागलाई पुनः सशक्त रूपमा उठाउने र नेपालमा पहिचान सहितको सङ्घीय संरचनाको स्वरूपबारे गहन अध्ययन गरी त्यसको खाका छिटै प्रस्तुत गर्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्