खानी तथा भूगर्भ विभाग: अत्यधिक वर्षा, पहिरो र कटानका कारण मेलम्चीमा क्षति

Machchapuchchre

अर्थ राजनीति  ~  सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ। गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको खानी तथा भूगर्भ विभागको टोलीले अत्यधिक वर्षा र वर्षापछि पहिरो जाँदा उक्त क्षति पुगेको निष्कर्ष निकालेको हो। विभागका सिनियर डिभिजनल जियोलोजिस्ट एवं उपसचिव शिवकुमार बाँस्कोटा र जियोलोजिस्ट गौतमप्रसाद खनालको टोलीले यही साउन २२ देखि २५ गतेसम्म मेलम्ची र हेलम्बुलगायतका क्षेत्रमा गएर गरेको भौगर्भिक अध्ययनले उक्त निष्कर्ष निकालेको हो। असार १ गतेको अत्यधिक वर्षापछि हेलम्बु गाउँपालिकाको पेमदाङ खोला र मेलम्ची खोलाको दोभानबाट शुरु भएको बाढी मेलम्ची खोलामा जम्मा भई पहिराको लेदो र पानी मिसिँदा किनारा थप कटान भएको तथा खोलाले थप विकसित रूप लिँदै जाँदा मेलम्ची र त्यस आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको विभागका सिनियर डिभिजनल जियोलोजिस्ट बाँस्कोटाले बताए। मेलम्ची बजार हुँदै वहने इन्द्रावती, मेलम्चीखोला, पेमदाङखोला, लार्केखोला र याङ्रीखोला सबै हिमालबाट वहने खोला तथा नदी हुन्। उक्त खोलामा बाढी आउँदा मेलम्ची बजारसँगै चनौटे बजार, हेलम्बु गाउँपालिकाको केन्द्र किउल बजार, अम्बाथान, तिम्बु, ग्याल्थुममा बढी क्षति पुगेको जियोलोजिस्ट बाँस्कोटाको भनाइ छ।असार १ गतेकै वर्षाका कारण पेमदाङखोलामा आएको बाढीले हेलम्बुको भेमाथाङ चौरमा १० मिटर अग्लो ग्रेगान भरिएको थियो। उक्त गेग्रान एक करोड घनमिटर रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ।  उक्त भेमाथाङ चौर एक हजार ५०० मिटर लम्बाइ र ७०० मिटर चौडाइको रहेको छ। ‘उक्त चौरमा १० मिटर अग्लो ग्रेगान भरिँदा त्यस क्षेत्रमा कति ठूलो वर्षा र बाढी आएको रहेछ भन्ने स्पष्ट हुन्छ’, सिनियर डिभिजनल जियोलोजिस्ट बाँस्कोटा भन्नुहुन्छ। असार १ गते गेग्रानले भरिएको भेमाथाङ चौर साउन १६ गतेको वर्षाले कटान भएको छ। भेमाथाङ चौरको १०० मिटर क्षेत्रफल कटान हुँदा मेलम्चीमा साउन १६ गते पुनः ठूलो बाढी आएको बाँस्कोटाको भनाइ छ।मेलम्ची बजारमा क्षति हुनाको अर्को कारण इन्द्रावती नदीसमेत हो। इन्द्रावतीमा याङ्रीखोला र लार्केखोलाको पानी थपिएपछि इन्द्रावती नदी बढेर बाढी आउँदा थप क्षति पुगेको खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले देखाएको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्