नेपाली कांग्रेसको महाधिवेशन सङ्कटमा

Machchapuchchre

अर्थ राजनीति  ~  सत्ताधारी नेपाली कांग्रेसले निर्धारित समयमा महाधिवेशन गर्न नसक्ने अब प्रस्ट भएकाले पार्टीको केन्द्रीय कार्यसमितिमा त्यसको सर्वोत्तम विकल्पबारे छलफल चलिरहेको पार्टीका प्रवक्ताले बताएका छन्। पार्टी विधानले दिएको चार वर्ष र संविधानले दिएअनुसार थप गरिएको एक वर्ष र ६ महिना गरी साढे पाँच वर्षको अवधि भदौमा बितेसँगै कांग्रेस अवैधानिक बन्न पनि सक्ने सम्भावनाका माझ बिहीवारदेखि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। “भदौको पूर्वनिर्धारित मितिमा केन्द्रीय महाधिवेशन गर्न सक्ने स्थिति अब बिलकुलै बनेन। अब कुन प्रक्रियाबाट जाने अनि कसरी छोटो समयमा गर्ने भन्ने बारेमा छलफल सुरु भएको छ,” प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । कोरोनाभाइरसको महामारीले महाधिवेशनपूर्वका गतिविधि प्रभावित बनेको अनि क्रियाशील सदस्यता विवाद पनि बाँकी रहेको कारण देखाउँदै कांग्रेसको महाधिवेशन सङ्कटमा परेको नेताहरूले बताउँदै आएका छन्। कांग्रेस नेता मिनेन्द्र रिजालले भने, “कोभिड महामारी र दुई दुई पटक प्रतिनिधि सभा विघटन – यी दुईवटै कारणले हाम्रो आन्तरिक पार्टी गतिविधि प्रभावित हुन पुग्यो। पार्टीको भन्दा देशको राजनीतिले प्राथमिकता पायो। अब असंवैधानिक हुनबाट जोगिने र पार्टीको महाधिवेशन पनि छिटै हुनेगरी हामी समाधान निकाल्छौँ।” संविधानको धारा २६९ को उपधारा ४ मा दल दर्ताका निम्ति निवेदन दिँदा दलले पूरा गर्नु पर्ने शर्त उल्लेख छ। जसमा “राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ” भन्ने उल्लेख छ। साथै “विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्ष भित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरि राजनीतिक दलको विधानमा व्यवस्था गर्न वाधा पर्ने छैन” भनेर संविधानको सो उपधाराले बोलेको छ। आफ्नो विधानमा भएको चार वर्षे पदावधि सिध्याएर कांग्रेसले संविधानको सहारामा थप डेढ वर्षको अवधि उपयोग गरिसकेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्