वरिष्ठ नेता नेपाल : ” ओलीसँग लत्रेर र झुकेर एकता हुँदैन “

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग लत्रेर, झुकेर र अपमानपूर्वक ढंगले एकता हुन नसक्ने प्रष्ट पारेका छन् । आफू पक्षीय केन्द्रीय कमिटीको काठमाडौंमा दुई दिनसम्म बसेको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफू एकताविरोधी नभएको र सम्मानजनक एकताका लागि आफू सधैं तयार रहे पनि अध्यक्ष ओलीले नै एकताको वातावरण बिगार्दै गएकाले अपमानजक एकता नहुने प्रष्ट पारेका हुन् । नेता नेपालले अहिलेसम्म एकताका लागि भएका छलफल, राजनीतिक घटनाक्रम र आफ्नो अडानबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउँदै केही विषयमा सहमति भएपनि केही विषय अझै मिल्न बाँकी रहेको बताएका थिए । बैठकमा नरम रुपमा प्रस्तुत भएका नेता नेपालले नेपालको कम्युनिस्ट आन्दोलन इतिहासमै सबैभन्दा संकटकमा रहेको र एमाले केन्द्रदेखि वडातहसम्म विभाजित भएको अवस्थामा पुगेको बताएका थिए । ‘अहिले हामी इतिहासकै संकटपूर्ण अवस्थामा छौं, तर फेरि पनि नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजाने हाम्रो चाहाना हो । हाम्रो चाहाना विभाजन होइन, एकता नै हो । तर, एकताका लागि वातावरण बनिसकेको छैन’, बैठकमा नेता नेपालको भनाइ थियो । उनले एमाले एकताका लागि निर्णायक ढंगले प्रयत्नहरु गनुपर्ने भन्दै विघटित कार्यदलका नेताहरुलाई पनि एकता छिटो टुंगो लगाउन भनेको बताएका थिए ।

‘एकताको कुरा भइरहेको छ  । केन्द्रीय कमिटीका कमरेडहरुले व्यक्तिगत लाञ्छना लाग्ने,अभद्र र अमर्यादित ढंगले प्रस्तुत नहुन, अन्तवार्ता नदिन र नबोल्न म तपाईहरुलाई निर्देशन गर्छु’, नेताहरुलाई निर्देशन दिँदै नेता नेपालले भने, ‘कतिपय मान्छेहरुले अनेक ढंगले हामीमाथि गालीगलौज गरिरहेका छन् तर हाम्रो संस्कार त्यो होइन । हुन सक्दैन । हामी निर्णायक र सम्मानजनक एकता भनिरहेका छौ । माधव समूहका नेता तथा एमाले कार्यदलका संयोजकसमेत रहेका भीम रावलले कार्यदलमा भएको छलफल र १० बुँदे सहमतिबारे बैठकमा विस्तृतमा जानकारी गराएका थिए । रावलले १० बुँदे सहमति नै एकताको आधारबिन्दु हुन सक्ने भन्दै त्यसैका आधारमा अघि बढ्न सकिने दाबीसमेत गरेका थिए । बैठकमा धारणा राख्ने अधिकाँश केन्द्रीय सदस्यहरूले पनि सम्मानजनक एकतामा जोड दिएको दिएको केन्द्रीय सदस्य निरज आचार्यले बताए । ‘मिश्रित धारणा आएका छन् । धेरैले सम्मनजनक एकता भन्नुभएको छ भने केहीले अध्यक्ष केपी ओली पक्षले एकलौटी निर्णय गरेकाले आफूहरूले पनि कमिटी निर्माण गरेर जानुपर्छ भन्ने सुझाब दिनुभएको छ’, आचार्यको भनाइ छ । शुक्रबार सकिएको माधव समूहको बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । यसका लागि केपी ओली पक्षले साउनन २४ गते आइतबार बोलाएको केन्द्रीय कमिटीको बैठक स्थगित गर्नुपर्ने, सदस्यता नवीरकण अभियान रोक्नुपर्ने र वडा तथा गाउँ अधिवेशनका साथै विधान अधिवशेन पनि रोक्नुपर्ने माधव नेपाल पक्षले माग गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्