कोभिड अपडेट : सङ्क्रमण बढ्दो, प्रतिबन्धात्मक व्यवस्थाबारे के छ तयारी ?

Machchapuchchre

अर्थ राजनीति  ~  नेपालमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने क्रममा केही तीव्रता देखिएसँगै थप सतर्कता अपनाइनुपर्ने विज्ञहरूले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्गलवारको तथ्याङ्क अनुसार गत तीन दिनमा नेपालमा दैनिक औसत ३७ सय सङ्क्रमित थपिएका छन्। उक्त सङ्ख्या अघिल्लो तीन दिनको दैनिक औसत २६ सयभन्दा निकै बढी हो। शनिवार, आइतवार र सोमवार गरी ७,९२४ सङ्क्रमित थपिएकामा मङ्गलवार, बुधवार र बिहीवार गरी ११,२६० जना थपिए। छिमेकी भारतमा तेस्रो लहर अवश्यम्भावी रहेको विवरण आइरहेको बेला नेपालमा पनि “निकै धेरै सम्भावना रहेको” सरकारी अधिकारीहरूले नै बताउने गरेका छन्।अन्य स्थानका तुलनामा बढी जनघनत्व भएकाले काठमाण्डू उपत्यकामा आवश्यक सावधानी नअपनाइए ”यो गति झन् तीव्र हुन सक्ने” कतिपयको भनाइ छ तर धेरै जनसङ्ख्या रहेका कारण उच्च जोखिममा रहेको भनिएको काठमाण्डू उपत्यकामा महामारी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न किसिमका व्यवस्थाहरू लागु गर्दै आएका जिल्ला प्रशासन कार्यालयहरू भने हाल ‘पर्ख र हेरको अवस्थामा’ रहेको देखिन्छ। सङ्क्रमितको सङ्ख्या घटेको भनिएको बेला समेत अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका सङ्क्रमित धेरै हुने क्रम जारी देखिन्थ्यो। जसकारण काठमाण्डू उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले निषेध आदेशलाई गत सोमवारदेखि निरन्तरता दिँदै तीन १० दिनका लागि थपेको थियो। यसअघि साउन १ गतेदेखि सुरु हुने गरी निषेधाज्ञालाई अझ खुकुलो बनाइएको थियो।

सङ्क्रमण दर बढिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयहरूको तयारी के छ त? काठमाण्डूका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्छन्, ”हामी छलफलमै छौँ। अहिले के गर्ने भन्ने भाएको छैन। सीसीएमसीसँग (कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र) पनि बसेर छलफल गर्छौँ।”ललितपुरका प्रमुख जिल्ला अधिकारीले यो हप्ताबाट सङ्क्रमण बढ्दै गएको देखिएको अवस्थामा आफूहरूले छलफल गरेर केही निर्णय लिनुपर्ने देखिएको जानकारी दिए। ”विभिन्न खाले भिडभाड भइरहेका छन्। यातायातले हामीलाई लामो समय भो भनेर आफ्नो किसिमको माग राखिरहेको विषय छ। अब यही रूपमा बढ्दै गयो भने यसलाई बिचार चाहिँ गर्नुपर्ने स्थिति आउँछ। यो मेरो व्यक्तिगत धारणा हो।”ठोस केही निर्णय गर्नुअघि थप केही दिन तथ्याङ्क हेर्न जरुरी रहेको उनीहरू बताउँछन्। उपत्यकाका तीनै जिल्लाहरूले समन्वय गरेर एउटै खाले निर्णय सार्वजनिक गर्ने गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुन निषेधाज्ञाका बेला जोगिएकाहरू हाल सङ्क्रमित हुने क्रम बढेको देखिएको बताउँछन्। एक पटक सङ्क्रमण भइसकेकाहरू पनि फेरि सङ्क्रमित पाइएको भए पनि त्यो सङ्ख्या भने कम रहेको उनी बताउँछन्। सरकारले निषेधाज्ञा खुकुलो पारेसँगै स्थिर देखिएको सङ्क्रमण दर हरेक क्षेत्र खुल्दै गएसँगै बढेको देखिएको उनको बुझाइ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्