फोर्ब्सको पर्यटकीय गन्तव्यका सूचीमा नेपाल पर्नुको असर

Machchapuchchre

काठमाडौं । अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले जारी गरेको आउँदो दशकका लागि विश्वका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पनि रहेको छ। विश्वभरका प्रसिद्ध प्रकाशनहरूको उत्कृष्ट गन्तव्यहरूमा नेपाल पर्नु कुनै नयाँ कुरा होइन। तर सरोकारवालाहरूले यस्ता गन्तव्य सूचीहरू प्रचारका लागि महत्त्वपूर्ण भए पनि पर्यटकहरू आइहाल्न ती काफी नहुने बताउँछन्।

यस्ता सूचीहरूको उच्चतम फाइदा उठाउन पर्यटनका अन्य थुप्रै पक्षलाई सुधार गर्नुपर्ने व्यावसायीहरूको भनाइ छ। फोर्ब्सले यसपटक सूची सार्वजनिक गर्दा जीवनमा एकपटक पुग्नैपर्ने ठाउँको रूपमा विलासी समय र साहसिक कामलाई मुख्य बिषय बनाएको थियो। पर्यटनविद् खेम लकाई भन्छन्, “कुलीन पाठकवर्गहरूमा लोकप्रिय पत्रिका भएकाले अब नेपाल करूणाका कारण मात्र नभई प्रतिस्पर्धी गन्तव्यका रूपमा उभिनुपर्छ।”

“यो विषय हाम्रो कमजोरी रहिआएको छ।” व्यवसायी एवम् विज्ञहरूका अनुभवमा पछिल्लो समय धेरैजसो पर्यटकहरू अरू मानिसका अनुभव र सुझावका भरमा यात्रामा निस्किन्छन्। तर नेपालले सडक, विमानस्थल, स्वास्थ्य जोखिम र सेवाका असमान मूल्यसूचीजस्ता आधारभूत कुरामा पर्यटकहरूको विश्वास जित्न नसकेकोमा आलोचना हुने गरेको छ।

मिटरमा जान नमान्ने ट्याक्सी, ट्राफिक बत्ती र जेब्रा क्रस नभएका ठाउँजस्ता सामान्य शहरी परिवेशले अन्तर्राष्ट्रिय जगतमा देशको अवस्था औसतभन्दा कमजोर भएको छनक दिने पर्यटनविद्हरू बताउँछन्। लकाई थप्छन्: “यस्ता कुराले नेपाल चुनौतीपूर्ण गन्तव्य भएको छवि सिर्जना हुन्छ।”

उत्कृष्ट गन्तव्य, तर कठिन पहुँच
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका उत्कृष्ट पर्यटकीय गन्तव्य सूचीमा पर्नु नेपालको नौलो अनुभव होइन। यसअघि समेत ट्राभल गाइडहरूको प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ का लागि नेपाललाई ‘बेस्ट भ्यालु डेस्टिनेशनको’ सूचीमा राखेको थियो।

काठमाण्डू उपत्यका, लुम्बिनी र पोखराजस्ता शहरहरू छुट्टाछुट्टै रूपमा ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक रूपमा विशिष्ठ शहरका रूपमा सञ्चारमाध्यमका सूचीमा परेका छन्। पर्वतारोहण र हिमाल वरपरका आकर्षणहरूका कारण नेपाल त्यस्ता सूचीहरूमा धेरै पर्ने गरेको छ। घान्द्रुक राम्रो तस्बिर खिचाउन सकिने स्थानको रूपमा सीएनएनको सुचीमा परेको छ।

अन्नपूर्ण र सगरमाथा क्षेत्र विश्वका उत्कृष्ठ पदयात्रा मार्गमा परेका छन्। चितवन र बर्दियाको ख्याति थुप्रैतिर जोडिने गर्छ। पर्यटन व्यावसायी अमरबहादुर शाही भन्छन्, “तर केही वर्षहरूको क्रमलाई केलाउने हो भने हामीले नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धन गर्न सकिरहेका छैनौँ।”

“प्रवर्द्धन हुँदा समेत अन्यत्र प्याकेज नै किन्न पुग्ने पैसा नेपाल यात्राको हवाईजहाजमै जान्छ, नेपालभित्र पर्यटकको लागि अर्को चर्को हवाई मूल्य छ।” पर्यटकहरूले आफू जाने गन्तव्यबारे इन्टरनेटका थुप्रै स्रोतमा उपलब्ध अन्य यात्रीको प्रतिक्रियालाई समेत जाँचेर आफ्नो धारणा बनाउँछन्। त्यसैले इन्टरनेट प्रभावकारी हुनअघिका वर्षहरु जस्तो यस्ता सूचीबाट धेरै हौसिनु आवश्यक नभएको व्यवसायीहरूको भनाइ छ। बीबीसी नेपाली

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्