जसपाको विवाद टुंग्याउन निर्वाचन आयोगले आज ‘हेड काउन्ट’ गर्दै

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको छिनोफानो निर्वाचन आयोगले सोमबार गर्दैछ । निर्वाचन आयोगले विवाद टुंग्याउनका लागि सोमबार सनाखत अर्थात हेड काउण्ट गर्दैछ । सर्वोच्च अदालतले सनाखत रोक्ने आदेश दिन अस्वीकार गरेसँगै सोमबार विवादको छिनोफानो हुने भएको हो । सोमबार केन्द्रीय कार्यकारिणी परिषदका सदस्यको सनाखतमार्फत आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले बोलाएको छ । अध्यक्ष महन्थ ठाकुरले त्यसलाई रोक्न माग गर्दै रिट निवेदन दिए पनि सर्वोच्चले रोक्न अस्वीकार गरेको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै साउन १५ गते दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न उपस्थित हुन भनेको छ । तर सोमबारको प्रक्रिया रोक्ने आदेश नदिएपछि जसपाको आधिकाकिरता अर्का अध्यक्ष उपेन्द्र यादवले पाउने सम्भावना बढेको छ । ५१ सदस्यीय कार्यकारणीका ३२ जना सदस्य यादवको पक्षमा छन् । यादव पक्षमा बहुमत पुग्ने अवस्था देखिएपछि ठाकुरले शुक्रबार आयोगको थालेको प्रक्रिया नै रोक्न माग गर्दै गएको शुक्रबार सर्वोच्च पुगेका थिए । यसैबिच जसपा अध्यक्ष यादवले आफू पक्षीय सांसद एवं केन्द्रीय कार्यकारिणी परिषदका सदस्यहरुलाई गोदावरीको रिसोर्टमा राखेका छन् । सोमबार निर्वाचन आयोगले कार्यकारिणी परिषदका बहुमत सदस्यको सनाखतबाट पार्टीको आधिकारिकताबारे निर्णय गर्ने भएपछि यादवले आफ्नो पक्षमा रहेका सदस्यहरुलाई एकीतृत गरेर राखेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्