माधव नेपाललाई महेश बस्नेतको भौतिक आक्रमणको धम्की

Machchapuchchre

अर्थ राजनीति  ~  एमाले सांसद महेश बस्नेतले पार्टी वरिष्ठ नेता माधव नेपाललाई भौतिक आक्रमण गर्ने धम्की दिएका छन् । युथफोर्स काठमाडौं भ्याली कमाण्ड घोषणा तथा शपथ ग्रहण कार्यक्रममा भाषण दिने क्रममा उनले पूर्वप्रधानमन्त्री नेपाललाई ‘हातगोडाले सम्झाउने’ धम्की दिएका हुन् । एमाले अध्यक्ष केपी ओलीले ‘आममाफी दिएँ’ भनेपछि हिजो नेता नेपालले ‘बडा महाराजाधिराजले आममाफी दिनुभयो, अब नाचौँ’ भन्ने प्रतिक्रिया दिएका थिए । नेता नेपालको सोही भनाइप्रति आपत्ति जनाउँदै पूर्वमन्त्री बस्नेतले भने, ‘पार्टी नेताले आममाफी दिन्छु, एकताको प्रक्रियामा आउनु भन्दा केपी कमरेडलाई बडामहाराजको संज्ञा दिनुभयो हिजो एउटा ब्यांक्वेटमा बसेर । मुखले सम्झाउँछौँ । मलाई लाग्छ मुखले सम्झाउँदै काफी हुन्छ । यदि मुखले सम्झाउँदा मानेनन् भने कहिलेकाहीँ हातगोडाले पनि सम्झाउनुपर्ने हुन सक्छ ।’ विभिन्न क्षेत्रबाट भेला गरिएका युवाहरूकाे अगाडि उभिएर बस्नेतले यसाे भनेका थिए । यसअघि प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको परमादेशविरुद्ध नाराबाजी गरेका बस्नेतले अहिले आफ्नै पार्टीका शीर्ष नेतालाई धम्की दिएका हुन् । स्मरणीय छ, गत २८ जेठमा कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथि आक्रमणको धम्की दिँदा एमालेले त्यसलाई आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भनेको थियो । अहिले अध्यक्ष ओलीनिकट मानिएका बस्नेतले आफ्नै पार्टीका नेता नेपालमाथि ‘हातगोडा’ चलाउने धम्की दिँदा एमाले चुपचाप छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्