जसपा विवादमाथि आज अन्तिम बहस, आधिकारिकता कसको ?

Machchapuchchre

अर्थ राजनीति   ~  जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारितासम्बन्धी विवादबारे टुंगो लगाउन आज अन्तिम बहस हुँदैछ। पार्टीको आधिकारिकता दाबी गर्दै उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो दाबी पेश गरेका थिए। त्यसपछि आयोगले विवाद निरूपणका लागि इजलास गठन गरी साउन ३ गतेदेखि बहस चलाइरहेको छ । पहिलो चरणको बहस सकिएपछि आयोगले दुवै पक्षलाई आ-आफ्नो सक्कल प्रमाण पेस गर्न आदेश दिएको थियो। प्रस्तुत प्रमाणमा दुवै पक्षका अधिवक्ताहरूले दुई–दुई घण्टा आ–आफ्नो पक्षमा बहस गर्नेछन् । अरु अधिवक्ताले केही भन्न चाहन्छन् भने बहस नोट लेखेर दिन सक्छन् । बहस सकिएपछि आयोगको इजलासले प्रमाण हेरेर आजै नतिजा दिनसक्ने वा आयोगको इजलासमा बहस सकिएपछि सम्भवतः आजै आदेश आउनसक्ने निर्वाचन आयोगले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई समर्थन गरेपछि महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहबीच विवाद बढेको थियो । निरन्तर दुई सातासम्म एक अर्कामाथि कारबाहीको श्रृंखला चलाउँदै निर्वाचन आयोगसम्म पुगेका दुवै पक्षले अन्त्यमा मिल्ने नसकिने भन्दै आ–आफ्नो बाटो लाग्ने सहमति गरेका थिए । तर, विभाजित भए पनि पार्टी चाहिँ कसको पक्षमा रहने भन्ने विवाद कायमै छ। उपेन्द्र पक्षले भने केन्द्रीय कार्यकारिणीको बहुमत निर्णयसहित दाबी गरेको छ । यता महन्थले पनि पुस ७ गतेको निर्णयलाई नै आधार मानेर कार्यकारिणी समिति हेरफेर गरी आयोगमा विवरण बुझाएका छन्। जसपाको संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवकै बहुमत छ । सर्वोच्च अदालतको फैसलापछि ठाकुर पक्षका पाँच जना सांसद यादवको पक्षमा उभिएका छन्। केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा भएको बहुमतलाई आधार मान्ने हो भने उपेन्द्र यादवले नै पार्टीको आधिकारिकता पाउने सम्भावना बढी छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्