जडिबुटी खोज्न जाँदा बेपत्ता भएका जना सकुशल घर फिर्ता

Machchapuchchre

जुम्ला । जडिबुटी संकलनका लागि जंगल गएका बेला हिउँ परेर बेपत्ता भएका १३ जना व्यक्ति सकुशल घर फर्किएका छन् । बिहीबार राति जंगलतर्फ गएका जुम्लाको तिला गाउँपालिका–९ शेरा फूलबारीका १३ जना सकुशल घर फर्किएका हुन् । जडिबुटी संकलनका लागि १४ जना जंगल गएकोमा १ जना वीनबहादुर बोहोराको भने हिमपातमा परेर मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

हिमपातमा परेर हराएका १३ जना मृतक बोहोराको शव समेत ल्याएर आइतबार राति ११ बजेतिर घर पुगेका खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रशासकीय अधिकृत देवेन्द्र श्रेष्ठले जानकारी दिए । यसअघि प्रशासनले भने जडिबुटी संकलनका लागि गएका १२ जना बेपत्ता भएको जनाउँदै आएको थियो ।

बेपत्ता भएका व्यक्तिका खोजीका लागि सोमबार हेलिकोप्टर समेत मगाइएको थियो । जिल्ला प्रशासन कार्यालयल जुम्लाले बेपत्ता व्यक्तिको खोजीका लागि हेलिकोप्टर परिचालन गर्नुपर्ने भन्दै गृह मन्त्रालयमा पत्राचार गरेको थियो ।

गृह मन्त्रालयले हेलिकोप्टरमार्फत बेपत्ता व्यक्तिको उद्दार गर्न भन्दै रक्षा मन्त्रालयमार्फत सेनालाई पत्राचार गरेको थियो । गृह मन्त्रालयको पत्राचार पछि नेपाली सेनाको सुर्खेतस्थित हवाई बेसबाट हेलिकोप्टर उडाउने तयारी पनि भएको थियो ।

तर, मौसममा आएको खराबीका कारण सोमबार हेलिकोप्टर उड्न सकेन । अपराह्न पछि हेलिकोप्टर उडाउने तयारी भइरहँदा बेपत्ता भएका व्यक्ति सम्पर्कमा आइसकेको जानकारी प्राप्त भएको नेपाली सेनाको सुर्खेतस्थित हवाई बेसका एक अधिकारीले जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्