कोभिड : निषेधाज्ञा खुकुलो भएपछि कोरोना भाइरसको अवस्था

Machchapuchchre

अर्थ राजनीति  ~  कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर फैलिन थालेपछि काठमाण्डू उपत्यकामा गत वैशाख १६ गतेबाट सुरु गरिएको निषेधाज्ञा पटकपटक थपियो। तर केही सातायता तुलनात्मक रूपमा निषेधाज्ञा खुकुलो भएको छ।अस्पतालहरूमा केही साताअघि चाप घटेको र एकदमै गम्भीर बिरामीको सङ्ख्या पनि कम भइरहेको विवरण सार्वजनिक भइरहेको छ। उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले सोमवारबाट सर्वसाधारण नागरिकलाई हिँडडुल र किनमेल गर्न थप सहज बनाइदिएका छन्  तर यसरी खुकुलो बनाउँदा केही घटे जस्तो देखिएको सङ्क्रमितको सङ्ख्यामा अस्वाभाविक परिवर्तन हुन सक्ने आशङ्का पनि व्यक्त भएको छ। सर्वसाधारणको आवागमन खुकुलो पारिएको अवस्थामा कतिपयले विभिन्न स्थानबाट मानिसहरू कोरोनाभाइरसको “हटस्पट” मानिएको काठमाण्डू उपत्यका फर्किँदा जोखिम बढ्न सक्ने बताइरहेका छन् तर चिकित्सकहरू अहिले नै त्यस्तो भनिहाल्न मिल्ने अवस्था नरहेको बताउँछन्। अहिले काठमाण्डू उपत्यकामा सङ्क्रमित हुनेहरूको सङ्ख्यामा देखिएको कमीको कारण “चेन ब्रेक” अर्थात्‌ कोरोनाभाइरस सङ्क्रमणको विस्तार रोकिएको हो वा धेरैभन्दा धेरै मानिसको शरीरमा एन्टिबडी विकास भएर हो भन्ने कुराको सङ्केत क्रमशः देखिँदै जाने उनीहरूको भनाइ छ। दुवै अवस्थामा एकाएक धेरै नै सङ्ख्यामा सङ्क्रमितहरू वृद्धि हुने सम्भावना भने “न्यून रहेको” उनीहरू बताउँछन्।सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी सुरक्षित बनाउने जनस्वास्थ्यका नीतिहरू धेरै लागु नगरिएको अवस्थामा काठमाण्डूमा अझै सङ्क्रमितहरू फेला परिरहेको र गतिविधि बढ्दा सङ्क्रमण अझै बढ्न सक्ने बताउँछन्। उनका अनुसार हाल उपत्यकावरपर वा अन्य विभिन्न स्थानका गाउँघरतिर सङ्क्रमण उच्च दरमा बढे जस्तो देखिएको छ। अनि त्यहाँबाट मानिसहरू यता आउँदा अलिकति सङ्क्रमण बढ्छ नै। तर त्यो कति धेरै हुन्छ भन्न चाहिँ गाह्रो छ, उनले बताए ।

लामो समयदेखि जारी गरिएको निषेधाज्ञा क्रमशः खुकुलो पार्दै लानुको विकल्प नभएको उनको भनाइ छ। “तर खुकुलो गर्दै जाँदा हामीले सङ्क्रमण बढेको थाहा पाउँछौ कि पाउँदैनौ त? त्यस्तो कुरा थाहा पाउने हामीले संयन्त्र बनाएका छौँ कि छैनौँ? त्यो कुराहरू हामीले सोच्नुपर्ने थियो,” उनले  भने।”खुकुलो बन्दै जाँदा सङ्क्रमण थपिने र केही हदसम्म स्पाइक (वृद्धि) देखिने अवस्था रहे पनि धेरै मानिसहरू सङ्क्रमित भइसकेको अवस्थामा सानो उभार आए पनि त्यो धेरै दिगो भने हुँदैन होला। किनभने सङ्क्रमित बनाउन सक्ने मानिसको सङ्ख्या एकदमै कम छ,” काठमाण्डू उपत्यकाको अवस्थाबारे सुवेदीले भने। अहिले सर्वसाधारणले नै आफूलाई शङ्का लागेको अवस्थामा कोभिड परीक्षण गराइरहेका छन्। सरकारले भने परीक्षण गरिदिएको छैनयस्तो अवस्थामा मानिसहरूलाई परीक्षण गर्न अलि सहज अनि सुलभ बनाइदिनुपर्ने चिकित्सकहरू बताउँछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्