पूर्वप्रधानमन्त्रीहरूको निष्कर्ष : बाह्य शक्तिको खतरा बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २७ गते मन्त्रिपरिषद् विस्तार गरेपछि विपक्षी गठबन्धनका दलहरू ओलीको निर्णयको विरोध गर्दै  वक्तव्य निकाल्ने तयारी थियो तर नेताहरू रोकिए । भोलिपल्ट सभामुख अग्नि सापकोटाले पूर्वप्रधानमन्त्रीहरूसँग पछिल्लो राजनीतिक उछलकुदबारे छलफल गरे । छलफलमा पूर्वप्रधानमन्त्रीहरूले ओलीको पछिल्लो शैलीविरुद्ध वक्तव्य निकाल्ने सहमति भयो । बाह्य हस्तक्षेप, विशेषगरी छिमेकी भारतको सहायतामा ओलीले सत्ता लम्ब्याइरहेको भनेर वक्तव्यमा उल्लेख गर्ने विषयमा पूर्वप्रधानमन्त्रीहरूबीच लामो बहस भएको थियो तर अन्त्यमा कसैको नाम उल्लेख नगरी हस्तक्षेप बढेको संकेत गर्ने निचोडमा उनीहरू पुगे । पूर्वप्रधानमन्त्रीहरू देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिबार निकालेको वक्तव्यमा मुलुकको संविधान, लोकतन्त्र, कानुनी राज्य एवम् मूल्यमान्यतामाथि निरंकुश हमला भइरहेको उल्लेख छ । नागरिकलाई सचेत हुन आह्वान गर्दै वक्तव्यको अन्तिममा उनीहरूले लेखेका छन्, ‘नेपालका बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ, नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यानाकर्षण गर्न चाहन्छौं ।’

पूर्वप्रधानमन्त्रीहरूले बाह्य शक्ति खुलाएका छैनन् तर उनीहरूको संकेत भारततिरै बढ्ता केन्द्रित छ । पूर्वप्रधानमन्त्री भट्टराईले पछिल्ला परिस्थितिको मूल्यांकन गरेरै आफूहरूले सोचीविचारी वक्तव्य निकालेको बताए । ‘पुस ५ गते प्रतिनिधिसभा विघटन भएयता आकस्मिक ढंगले घटनाक्रम बाहिरिएका छन् र यही बेला विभिन्न देशका प्रतिनिधि पनि आउनुले आशंका जन्मिएको छ,’ उनले भने, ‘चिज बाहिर सतहमा देखिएको छ, त्यतिमात्रै होइन, सोचेको भन्दा गम्भीर छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्