अर्थ राजनीति ~ कोरोना भाइरसको दोस्रो लहरको महामारीबाट सिङ्गो मुलुक नै आक्रान्त भएको यो अवस्थामा अत्यावश्यक सेवा क्षेत्रमा पर्ने बैङ्किङ पनि अछुतो रहन सकेन । गत वर्षको कोरोना भाइरसको पहिलो लहरको महामारीबाट धेरै प्रभावित बने पनि दोस्रो लहरबाट भने कम प्रभावित भएको पाइएको छ । सरकारले अग्र भागमा कार्यरत र अत्यावश्यक सेवा क्षेत्रमा कार्यरतका लागि खोपको व्यवस्था गरेसँगै दोस्रो लहरको महामारीको समय यस क्षेत्रले राहत महसुस गरेको छ । बैङ्कमा कार्यरत थुप्रै कर्मचारीमा सङ्क्रमण भयो तर गम्भीर प्रकृतिको सङ्क्रमणबाट भने जोगियो । बैङ्कमा कार्यरत लगभग ३० प्रतिशतले खोप पाएका छन् । बाँकीलाई पनि खोप उपलब्ध गराउन र बैङ्क तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीमा सङ्क्रमणको जोखिम बढी भएकाले उनीहरूका परिवारका सदस्यलाई पनि खोपको व्यवस्था गर्न सरकारसँग बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले माग गर्दै आएका छन् । निषेधाज्ञा सुरु भएसँगै राष्ट्र बैङ्कले सीमित शाखा मात्र खोलेर सेवा प्रदान गर्न र डिजिटल बैङ्किङ क्षेत्रलाई प्रोत्साहन गर्न दिएको निर्देशनसँगै बैङ्कहरूले न्यून शाखाबाटै सेवा दिइरहेका छन् । सीमित शाखा मात्रै खुल्दा ग्राहकहरू समस्यामा परेको, घन्टौँ लाइन लाग्नुपर्ने र यस्तोमा ग्राहक तथा बैङ्कका कर्मचारीमा सङ्क्रमणको जोखिम बढी हुने भएकाले शाखा सङ्ख्या बढाउनुपर्ने माग पनि भएको छ । एकातिर ग्राहक सेवा, अर्कोतिर कर्मचारीको स्वास्थ्य । यसलाई व्यवस्थापन गर्न बैङ्कहरूले कोभिड हटलाइन सेवा सञ्चालन गरिरहेका छन् भने कतिले हरेक शाखाका सम्पर्क व्यक्तिको फोन नम्बर नै उपलब्ध गराएर ग्राहकलाई कुनै पनि सेवा लिन सक्ने गरी व्यवस्था मिलाएका छन् । शाखा बन्द रहेको अवस्थामा पनि अत्यावश्यक पर्दा सम्पर्क गरी सेवा लिन सकिने सुविधा यतिबेला बैङ्कहरूले दिइरहेका छन् । आर्थिक वर्ष अन्त्यको चाप अब यो क्षेत्रमा देखिन थालिसकेको छ । एकातिर नाफा बढाउनुपर्ने दबाब अर्कोतिर कर उठाउन ढिलाइ । महामारी नियन्त्रणमा आउने सङ्केत दखिएको छैन भने निषेधाज्ञा अझै लम्बिन सक्ने देखिन्छ । यस्तोमा बैङ्कले कसरी सेवा प्रदान गर्लान् ? कर्मचारीको सुरक्षा, नाफा कमाउनु पर्ने दबाब, कर उठाउन घर्किंदै गरेको समय लगायतलाई बैङ्कले कसरी व्यवस्थापन गर्दैछन् ।
अत्यावश्यक सेवा क्षेत्रमा पर्ने बैङ्कले महामारी फैलिएसँगै सीमित शाखा कार्यालय सञ्चालन गरी सीमित कर्मचारीबाट सेवा उपलब्ध गराउन सरकारले दिएको निर्देशनअनुसार अगाडि बढिरहेको छ ।बैङ्क तथा वित्तीय संस्थाहरू सधैँ नै नाफा कसरी कमाउने भन्ने दौडमा देखिन्छन् । कसले बढी नाफा देखाउन सक्छ भन्ने प्रतिस्पर्धा यस क्षेत्रमा देखिन्छ । सँगसँगै असार लाग्दै गर्दा बैङ्कहरूमा यसको प्रेसर प्रष्टै देखिन्छ । कोरोना महामारीले सबै क्षेत्र ठप्प रहेको बेला राष्ट्र बैङ्कले आफ्ना ऋणीलाई केही सहुलित दिन गरेको आग्रहअनुसार बैङ्कहरू यतिबेला सहुलियतको कुरा गरिरहेका छन् । यस्तैमा बैङ्कहरूले समयसीमा नै तोकेर जसले छिटो ब्याज तिर्नसक्छ उसलाई यति छुट भन्न थालिसकेका छन् ।