कोरोनाको तेस्रो लहरले बेहाल बनाउन सक्ने : विशेषज्ञ डाक्टर

Machchapuchchre

अर्थ राजनीति  ~  नेपालमा कोरोनाको दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ । तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रूप नलेला भन्न नसकिने भन्दै सङ्क्रामक रोगका विशेषज्ञहरूले चेतावनी दिएका छन् । नेपालमा कोरोना सङ्क्रमितको उपचारमा सुरु देखि नै सक्रिय शुक्रराज सरुवा रोग अस्पतालका विशेषज्ञ डाक्टर अनुप बास्तोलाले कोरोनाको दोस्रो लहर उत्कर्षमा पुगेको बेला भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागेमा धान्न सक्ने धैर्यता सायद नरहन सक्ने भन्दै चेतावनी दिएका छन्  । शुक्रराज सरुवा रोग अस्पतालमा देखिएको पछिल्ला दुई महिनाको सङ्क्रमणको स्थितिलाई ग्राफमा प्रस्तुत गर्दै उनले लेखेका छन्, ‘कोरोना सङ्क्रमितको सङ्ख्या विगत ३ हप्ताको तुलनामा केही कम र स्थिर छ । वैशाखको पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता आइपुग्दा त्यही दरमा बिरामी भर्ना भएका छन् । तर, वैशाखको पहिलो साताको तथ्याङ्क बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ।’ यो डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौँ । यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जेन्सीमा एकै दिन ५ जनासम्म बिरामीको मृत्यु भयो । हामीले चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौँ । टेकु अस्पतालमा २४ बेडको आइसियु बढाएर २८ बेड पुग्यो । कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो भने अहिले २२ वटा भेन्टिलेटर छन्  तर, अहिले पनि आइसियु बेड र भेन्टिलेटर भरिएका छन् । यसको अर्थ हो, अस्पतालको हालको क्षमता बराबर सिकिस्त बिरामी उपचाररत छन् ।

अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको सङ्ख्या केही घटेको छ, यो दर स्थिर र अझै घट्दो क्रममा जाने सम्भावना छ । तर, अहिले काठमाडौैं बाहिर बाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ । यसले गाउँ-गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शङ्का उब्जाएको छ । दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने बाध्यताले गर्दा धेरैको ज्यान गुमायौँ । त्यो, महामारीको एउटा रूप नै हो । यद्यपि, अस्पताल आइपुगेका बिरामीको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौँ । दोस्रो लहरको एउटा सुखद अनुभव भनौँ, खोप लगाएका मानिस सङ्क्रमित त भए, तर, कम मात्र सिकिस्त भए । यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो । खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्छ । कोभिड निमोनिया भएको ६-७ दिनमा बिरामीलाई निकै गाह्रो पर्छ, त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्छन् । यो समय सबैले ध्यान दिनु जरुरी छ । बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ । तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुन सक्छ । अब, स्वासप्रस्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौँ । अहिले बिरामी व्यवस्थापन गर्न सक्ने अवस्थामा अस्पताल आइपुगेका छन् । सम्भवतः दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ  तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रूप नलेला भन्न सकिन्न । दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागेमा धान्न सक्ने धैर्यता सायद नरहन सक्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्