नेकपा सचिवालय र स्थायी कमिटी आज बस्दै

Machchapuchchre

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति र सचिवालय बैठक आज (आइतबार) बस्दै छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि बस्न लागेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकार प्राप्त गरेसँगै पार्टीका गतिविधिहरुले पुनः गति पाएको हो ।

यसअघि पार्टीका हरेक निर्णय सचिवालयले मात्र गर्दै आएको थियो । गत मंसिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक गर्ने निर्णय गरेको थियो । आज बस्ने स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ६ महिने कार्ययोजना तथा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । अध्यक्ष प्रचण्डले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनका विषयमा शनिबार अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।

त्यस्तै, बैठकले सचिवालयले गर्दै आएका संगठनात्मक निर्णयहरुलाई अनुमोदन गर्नेछ । बैठकले वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने गरी सचिवालयले गरेको निर्णयलाई पनि अनुमोदन गर्नेछ । स्थायी समिति बैठकमा सचिवालय विस्तारको विषयमा पनि छलफल हुने बताइएको छ । स्थायी समितिअघि सचिवालय बैठक बसेर स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्