अक्सिजन आपूर्ति सहज बनाउन उपप्रधानमन्त्री पोखरेल द्वारा छलफल सुरु

Machchapuchchre

अर्थ राजनीति  ~  उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरूमा अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रसँग छलफल गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले आज उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरूसँग प्रधानमन्त्री कार्यालयमा छलफल गरेका हुन् । अक्सिजन उद्योगहरूलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउनेलगायतका विषयमा छलफल भएको थियो । बैठकले अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्न उद्योग मन्त्रालयले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ भने अक्सिजन सिलिण्डर वितरण प्रणालीलाई वस्तुपरक बनाउनका लागि बिरामीको संख्या, अक्सिजन चाहिने बिरामी, अक्सिजन उत्पादन गर्ने उद्योगहरू, अस्पतालबीच समन्वय गर्ने निर्णय भएको छ । यसैगरी, छिटो माध्यमबाट अक्सिजन प्लान्ट गर्नका लागि आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ । निजी क्षेत्रका ठूला अस्पतालहरूमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा अहिलेको समस्या आइपरेको हो । काठमाडौं उपत्यका र काभ्रेमा गरी अहिले ९ वटा अक्सिजन उद्योग छन् । १५ हजार लिटरभन्दा बढी माग भए पनि अहिले ७ हजार २ सय लिटरमात्रै उत्पादन क्षमता रहेको छ । निजी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएका कारण अधिकांश निजी अस्पतालहरू यिनै उद्योगमा निर्भर हुनुपर्ने अवस्था छ । सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले संकटको अवस्था रहेकाले सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताए । ‘महामारीसँग जुध्नका लागि राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘संकटको बेला भ्रमको खेती गर्ने पनि छन्, त्यस्तोबाट सचेत पनि हुनुपर्छ । ’सीसीएमसीले अक्सिजन ग्यासको विद्यमान समस्या समाधान गर्ने उद्देश्यले विभिन्न प्रयास गरेको छ । काठमाडौं उपत्यका र बनेपामा रहेका उद्योगको अनुगमन गरी विवरण संकलन तथा समस्या र सम्भावना समेतको समीक्षा गरिएको छ भने सबै उद्योगमा सुरक्षाकर्मी खटाइएको छ । सरकारले अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मत कार्यमा सहजीकरण तथा सहयोग समेत गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्