प्रधानमन्त्री केपी शर्मा ओली लाई संसदले दिएन विश्वासको मत

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव सोमबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १२४ मत परेको छ । बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसे । प्रस्तावको पक्षमा परेको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर प्रधानमन्त्री ओलीले आफ्नै दलको सबै मत पाउन सकेनन् । एमालेमा समानान्तर संरचना बनाएको माधवकुमार नेपाल पक्षका २८ सांसद बैठकमा अनुपस्थित भएका थिए ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । यस्तै जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १५ सांसद तटस्थ बसेका छन् ।

प्रधानमन्त्री ओली पदमुक्त भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । तीनै दलका नेताहरुले पनि बहुमत जुटाएर नयाँ सरकार बनाउने दाबी गरेका छन् । संसद बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका छन्, ‘अब ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्छ, हामी बहुमत पुर्‍याएर सरकारमा जान्छौं ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्