महेन्द्रनगर बजारनजिकै शक्तिशाली विष्फोट, दुई जनाको मृत्यु, प्रहरी निरीक्षक सहित ४ घाइते

Machchapuchchre

जनकपुरधाम । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक शक्तिशाली बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । घटनामा प्रहरी निरीक्षकसहित चार जना घाइते भएका छन् । महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा राखिएको गएराति सवा १२ बजेतिर बम विष्फोट भएको हो । सो विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन्। जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई धरान लगिएको छ। उनीहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । चारै जनाको अवस्था गम्भीर छ ।

राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिड हटाउँदै गर्दा बम विष्फोट भएको थियो । विष्फोटका कारण प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान महतोको बायाँ कोखमा छर्रा लागेको छ ।

बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । शनिबार बिहानसम्म घटनाको जिम्मा पनि कसैले लिएको छैन । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ । सांकेतिक तस्वीर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्