ठूला अस्पतालको शुल्क आतंक : बेड चार्ज दिनकै ५० हजारसम्म !

Machchapuchchre

अर्थ राजनीति  ~  उपत्यकाका ठूला निजी अस्पतालहरुले कोरोना संक्रमितहरुसँग निकै चर्को शुल्क लिने गरेको पाइएको छ । आइसोलेसन बेडको दैनिक शुल्क मात्र ७ हजार रुपैयाँसम्म तोकिएको छ, आईसीयू तथा भेन्टिलेटर बेडका लागि दैनिक साढे २६ हजारसम्म पर्छ । औषधि, नर्स तथा डक्टरको शुल्क सबै जोड्दा निजी अस्पतालको शुल्क छोइनसक्नु हुने देखिन्छ । जबकि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारका लागि दैनिक शुल्क सामान्यका लागि ३५०० रुपैयाँ, मध्यमको ७००० र गम्भीर उपचारका लागि दैनिक १५ हजार रुपैयाँ तोकेको छ । त्यसअनुसार सेवा सम्झौता गर्न निजी अस्पतालहरुलाई प्रस्ताव पनि गरेको छ तर उपत्यकामा भएका ठूला अस्पतालहरु सरकारले तोकेको शुल्कमा उपचार गर्न तयार छैनन् । केही निजी अस्पतालले सेवा सम्झौताबारे छलफल भइरहेको बताएका छन् भने केहीले सरकारबाट अहिलेसम्म औपचारिक जानकारी नै नआएको तर्क गरेका छन् । भैंसेपाटीस्थित मेडिसिटी अस्पतालकी सूचना अधिकारी मनिता पोखरेलका अनुसार सेवा सम्झौताबारे अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालयबीच छलफल भइरहेको छ  तर अहिले आफ्नै दररेट अनुसार संक्रमितको उपचार गर्ने गरिन्छ । पोखरेलका अनुसार मेडिसिटीले कोरोना संक्रमितको बस्ने सिङ्गल आइसोलेसन रुमको दैनिक १२ हजार ५०० शुल्क तोकेको छ  । ट्वीन्स सेयरिङ रुमको ६०००, आईसीयू बेडको २० हजार र भेन्टिलेटरको २५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो शुल्क तिरेपछि खाना र खाजाको अतिरिक्त रकम लाग्दैन । औषधि, चिकित्सकीय सेवा, परीक्षणलगायत अन्य सेवाको चार्ज भने बेग्लै लाग्ने उनले बताइन् । ग्रान्डी अस्पतालका जनरल म्यानेजर विकासमान सिंहले सेवा सम्झौताबारे सञ्चारमाध्यमबाट मात्रै जानकारी पाएको बताए । सरकारी पक्षबाट कुनै औपचारिक परिपत्र नभएको भन्दै उनले सरकारले निर्धारण गरेको दररेट कार्यान्वयन गर्न नसकिने बताए ।‘सरकारले एकलाैटी रुपमा संक्रमितको उपचार व्यवस्थापन खर्च निर्धारण गरेको छ । निजी अस्पताल सञ्चालकसँग परामर्श नै भएको छैन’ उनले भने, ‘सरकारले निर्धारण गरेको दररेट व्यावहारिक छैन । त्यसैले उक्त सेवा सम्झौता कार्यान्वयन गर्न सक्ने अवस्था छैन ।’ सरकारी दररेट अनुसार बिरामीको उपचार गर्दा अस्पतालले खर्च धान्न नसक्ने उनको भनाइ छ । सरकारको सेवा सम्झौता कार्यान्वयनका लागि थप परामर्श आवश्यक रहेको उनले बताए । सिंहका अनुसार ग्रान्डी अस्पतालले सुविधा अनुसार प्रतिदिन ७ हजारदेखि लिएर २६ हजार ५०० रुपैयाँसम्म लिने गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्