माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न शुरु

Machchapuchchre

अर्थ राजनीति  ~  स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले दोलखाको लामाबगर पुगेर सुरुङमा पानी पठाउने कार्यको शुभारम्भ गरे । माथिल्लो ठाडो सुरुङ र  तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम सकिएपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न थालिएको हो । मुख्य निर्माण अन्तर्गत बाँध/इन्टेक, मुख्य सुरुङ, विद्युत गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाल श्रेष्ठका अनुसार सुरुङको परीक्षण सफल भएपछि परीक्षण उत्पादन सुरु हुनेछ । पानी भर्न सुरु गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरुमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६/६ वटा टर्वाइन र जेनेरेटरहरुको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । चालु आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिटहरु रहेका छन् । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत उत्पादन हुनेछ ।२०७२ को विनासकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्