अझै पनि लचिलो छु, पार्टी खोस्न कोही आएको हो भने सम्भव छैन- प्रधानमन्त्री ओली

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकता जोगाउन आफू अझै पनि लचिलो रुपमा प्रस्तुत भइरहेको बताएका छन् । तर, कोही पार्टी खोस्न आएको हो भने सम्भव नहुने उनले चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउन म रातोदिन, अहोरात्र खटेको छु । हामी जिम्मेवार र अनुशासित भएकाले हामी यो पार्टी एकता कायम गर्न प्रयास गर्छौं । प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालका कारण नेकपाको विभाजन भएको आरोप लगाए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यत्रो दुःखबाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुले आफ्नो महत्वाकांक्षा र स्वार्थका कारण हाम्रो पार्टी पुनः विभाजित भयो । विभाजित नभएको भए पनि यति धेरै शत्रुतापूर्ण सम्बन्ध बनाइसक्नु भएको थियो, मलाई साधारण सदस्य बाट समेत हटाउने दुस्साहस गर्ने ।’ प्रधानमन्त्री ओलीले पार्टीमा असन्तुष्ट पक्षहरू रहँदासम्म पार्टी अघि बढ्न नसक्ने संकेत गर्दै बैठकमा भने, ‘त्यस्ता व्यक्तिहरु नेतृत्वमा हावी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो, तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन ।’ प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘अहिले पनि केही व्यक्तिहरु अराजक ढंगले लाग्ने, पार्टीकै नेताहरुविरुद्ध विषवमन गने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमान्दार पंक्तिलाई बदनाम गराउने र समाप्त गर्ने हिसाबले लागेका छन् ।’ आफू लचिलो भएर आउँदा पनि अर्को पक्षमा पार्टीलाई एकतावद्ध बनाउने कुनै पहल, महसुस र अनुभूति नदेखिएको ओलीले बैठकमा बताएको एक नेताले जानकारी दिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्