बैङ्कहरुको ब्याजदरमा हेरफेर ,मुद्दतीको ब्याज बढाउन थाले

Machchapuchchre

अर्थ राजनीति  ~  बैङ्कहरुले ब्याजदरमा सामान्य हेरफेर गर्न थालेका छन् । शुक्रबार ४ वटा वाणिज्य बैङ्कले ब्याजदरमा हेरफेर गरेका छन् । हिमालयन बैङ्कले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । तर अल्पकालिन मुद्दती निक्षेपमा भने केही बढाएको देखिन्छ । पछिल्लो समय कर्जा लगानी ह्वात्तै बढ्न थालेपछि अल्पकालिन निक्षेप आकर्षित गर्ने दाउमा बैङ्कहरु देखिएका छन् । उनीहरुले सार्वजनिक गरेको ब्याजदरले अल्पकालिन निक्षेप आकर्षित गर्न खोजेको प्रष्ट हुन्छ । हिमालयनको अहिले मुद्दती निक्षेपको अधिकतम ब्याजदर साढे ६ प्रतिशतसम्म रहेको छ । व्यक्तिगत मुद्दती निक्षेपको चार देखि साढे ६ प्रतिशतसम्म तोकिएको छ । यसअघि ४ देखि ७ प्रतिशतसम्म तोकिएको थियो । यस्तै संस्थागत निक्षेपकर्ताका लागि ३ देखि ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । पहिला ३ देखि ७ प्रतिशतसम्म थियो । लामो समयको निक्षेपको ब्याजदरमा खासै परिवर्तन नदेखिएपनि अल्पकालिन निक्षेपमा भने ब्याजदर बढेको देखिन्छ । अहिले हिमालयनले ३ महिने व्यक्तिगत मुद्दती खाताको ब्याजदर ४ प्रतिशत, ९ महिनाको ६.५ प्रतिशत र १ वर्षभन्दा बढीको ७ प्रतिशत ब्याजदर तोकेको छ । बचत खातामा भने हिमालयनले पनि २ देखि ४ प्रतिशत ब्याज दिने व्यवस्था गरेको छ ।  यो ब्याजदर यहि चैत १ देखि  लागु हुनेछ । यता स्ट्याण्डर्ड चार्टड बैङ्कको व्यक्तिगत मुद्दती निक्षेपमा साढे चार देखि ६ प्रतिशतसम्म छ । संस्थागत निक्षेपकर्ताले ३ देखि ३.२५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । मुद्दती खाताको ब्याजदर ३ महिनाको लागि ४.५ प्रतिशत, ३ महिनादेखि १ वर्ष भन्दा कमका लागि ५ प्रतिशत र १ वर्ष वा सोभन्दा बढीका लागि ६ प्रतिशत ब्याजदर तोकेको छ । यद्यपि बचतको ब्याजदरमा भने हेरफेर भएको छैन । यसले २ देखि ४ प्रतिशतसम्म बचतमा ब्याज दिँदै आएको छ । कुमारी बैङ्कको मुद्दती खातामा ३ महिनादेखि १ वर्ष भन्दा कम मुद्दतीमा १.५ प्रतिशत बढाएर ५.५ प्रतिशत पुर्याएको छ । १ वर्षदेखि २ वर्षसम्मको मुद्दती निक्षेपको ब्याजदर ०.७५ प्रतिशत बढाएर ६.७५ प्रतिशत पुर्याएको छ । २ वर्षभन्दा बढी निक्षेपको ब्याजदर भने ७ प्रतिशतमा स्थिर राखिएको छ । यसको पनि बचतको ब्याजदर भने स्थिर छ । यसको बचतको ब्याजदर २ देखि ४ प्रतिशतसम्म छ । यता एभरेष्ट बैङ्कको मुद्दती निक्षेपको ब्याजदर ४.७५ प्रतिशत देखि ६.७५ प्रतिशतसम्म छ  । संस्थागत मुद्दतीको ५ देखि ७ प्रतिशतसम्म ब्याजदर रहेको छ । फागुनसम्म ६ महिने निक्षेपको ब्याजदर ५.५० प्रतिशत रहेकामा एभरेष्ट बैङ्कले ६.२५ प्रतिशत पुर्याएको हो । एभरेष्ट बैङ्कले ६ महिनाभन्दा कम अवधिको निक्षेपमा ०.२५ प्रतिशत बढाएर ४.७५ प्रतिशत पुर्याएको छ । त्यस्तै १ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपको ब्याज पनि ०.२५ प्रतिशत बढाएर ६.७५ प्रतिशत बनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्