प्रतिनिधिसभा बैठक : सभामुखले सबै दलका नेतासँग छलफल गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले यही फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठक कक्षको तयारीको अवस्थाबारे अवलोकन गर्न संसद भवन नयाँ बानेश्वर पुगेका उनले संबद्ध सबै पक्षसँग छलफल गरेर बैठकलाई अगाडि बढाउने बताएका हुन्। बैठक कक्षको व्यवस्थापनको अवलोकनपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसला खुसी र गौरवको विषय भएको र संसद अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गर्ने बताए। केही समय संसद अवरुद्ध भएकोले खल्लो महशुस भएपनि अहिले सबैमा उत्साह जागेको उल्लेख गरे । प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा बुधबारदेखि शुक्रबारसम्म संघीय संसदका सबै सांसदहरु तथा कर्मचारीहरुलाई कोरोनाविरुद्धको भ्याक्सिन समेत लगाइँदैछ। राजनीतिक रुपमा दुई धारमा नेकपा विभाजन भएपनि कानुनी रुपमा नहुँदा आगामी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओली पक्ष नेकपा र प्रचण्ड–नेपाल पक्ष नेकपाबीच रस्साकस्सी हुने निश्चित देखिन्छ । प्रचण्ड–नेपाल पक्ष नेकपाले प्रतिनिधिसभा बैठक सञ्चालनसँगै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे गृहकार्य गरिरहेको समेत बुझिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्