फिनल्यान्डकी ३४ वर्षीया मरिन विश्वकै कान्छी प्रधानमन्त्री बन्दै

Machchapuchchre

हेल्सीङ्की । फिनल्यान्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेत्री सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएका अन्ति रिन्नेको पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो । उनी आफ्नो पार्टीको उपाध्यक्ष पनि हुन् । उनले आफ्नो पार्टी अध्यक्षले बिरामी बिदा लिँदा गत वर्ष पार्टी चलाएकी थिइन् ।

गठबन्धन सरकारका रहेका पाँच पार्टीमध्ये फिनल्यान्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी)ले प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि ३४ वर्षीया मरिनलाई सरकारको नेतृत्व गर्न पठाउने गरी चयन गरेको छ । कान्छा प्रधानमन्त्रीमध्ये युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको ३९ वर्षकी छिन् ।

सोसल डेमोक्र्याटिक संसदीय समूहमा उनले ३७ वर्षीय अन्ति लिन्डमानलाई तीन मतले पराजित गर्दै प्रधानमन्त्री बन्ने बाटो सुनिश्चित गरेकी हुन् । लिन्डमानले २९ मत ल्याउँदा मरिनले ३२ मत ल्याएकी छन् । पार्टीभित्रको निर्वाचन आइतबार भएको थियो भने नतिजा राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरिएको थियो । हुलाक सेवामा भएको हडतालको विषयले नराम्रो रुप लिँदै गएपछि निवर्तमान प्रधानमन्त्री रिन्नेले भने विश्वासको मत गुमाएर राजीनामा दिएका हुन् ।

उनलाई गठबन्धनमा रहेकै दलका सांसदहरूले असहयोग गरेका थिए । निवर्तमान प्रधानमन्त्रीलाई असहयोग गरेका दलका सांसदहरू पनि नयाँ गठबन्धनसमेतमा सँगै रहेका छन् । उनीहरूले नयाँ सरकार बनाउनेबारेमा पनि छलफल गरिरहेका छन् । मरिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्ने पनि निर्णय भएको छ ।

गठबन्धनमा सोसल डेमोक्र्याट्स, सेन्टर, ग्रिन्स, लेफ्ट एलाइन्स र स्वेडिस पिपल्स पार्टी रहेका छन् । उनीहरूमध्ये सेन्टरले निवर्तमान प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो । गत अप्रिलमा गरिएको निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी ठूलो दल बनेकाले त्यही दलबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाअनुसार मरिन प्रधानमन्त्री बन्न लागेकी हुन् ।

प्रधानमन्त्रीका लागि निर्वाचित भएसँगै उनले छोटो वक्तव्य दिँदै सबै पार्टीहरुलाई एकजुट हुन आह्वान गरेकी छन् । फिनल्यान्डका राष्ट्रपति सौली निनिस्तोले मरिनलाई प्रधानमन्त्रीका रूपमा मंगलबार नियुक्त गर्ने स्थानीय सन्चारमाध्यमहरूले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।

निवर्तमान प्रधानमन्त्री रिन्ने नेतृत्वको सरकारमा मरिन गत जुनदेखि यातायात तथा सन्चारमन्त्री भएकी थिइन् भने सन् २०१५ देखि उनले फिनल्यान्डको जनप्रतिनिधिका रूपमा संसदमा प्रतिनिधित्व गर्दै आएकी छन् । मरिन यसअघि पनि विभिन्न राजनीतिक जिम्मेवारीमा रहेकी थिइन् । आमाले एक्लै हुर्काएकी मरिनले प्रशासनशास्त्रमा स्नातकोत्तर गरेकी छन् भने विश्वविद्यालयमा पढ्न जानेमा उनी आफ्नो परिवारको पहिलो व्यक्ति पनि भएकी थिइन् । सिन्ह्वा

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्