योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्छ – परराष्ट्रमन्त्री

Machchapuchchre

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवन अभिन्न अङ्ग बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय योग मूल समारोह समितिले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल समारोह कार्यक्रममा उनले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताए ।

उनले आधुनिकतासँग समाजमा थुप्रै तनाव बढेको भन्दै त्यसलाई कम गर्नका योग, ध्यान र विपश्यना नै उपयुक्त माध्यम भएको बताए । उनले निरोगी, शान्त र सौहार्दपूर्णरूपमा जीवनका लागि योग नै रहेको उल्लेख गर्दै योगलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए । आधुनिक चिकित्साले उपचार नभएको बेला प्राकृतिक चिकित्साअन्तर्गत योग गरेर नै हाम्रा पुर्खाले उपचार गरेको उनको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकार रोग लाग्न नदिने अभियानमा रहेको बताए । उनले योग, ध्यानजस्ता प्राकृतिक उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राकृतिक चिकित्सा र योग शिक्षालाई आगामी शैक्षिकसत्रदेखि विद्यालय तहमा समेट्ने बताए ।

उनले योगलाई नै प्राथमिकतामा राखेर सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि संसद्को हिउँदे अघिवेशनमा विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता गर्ने बताए । उनले योगलाई सप्ताहरूपमा नभएर वर्षभित्र अभियानका रुपमा सञ्चालन गर्ने तयारीसमेत भएको बताए ।

कार्यक्रममा पतञ्जलि योग समितिका अध्यक्ष सुर्दशन सुवेदीले मनलाई स्थिर राख्न र तनावबाट मुक्त हुनका लागि योग गर्नुपर्ने बताए । स्वामी आनन्द अरुण गौतम बुद्ध जन्मेको दिनलाई योग दिवस मनाउनुपर्ने बताए । ब्रह्मकुमारी कुसुमले योगले जीवनलाई सुखी बनाउने बताए । आर्ट अफ लिभिङका अच्युत गौतमले योगलाई माध्यमिक तहसम्मको शिक्षामा समावेश गर्नुपर्ने बताए ।

सोही अवसरमा योग क्रियाकलाप कसरी गर्ने भन्नेबारेमा मन्त्रालयद्वारा गठित राष्ट्रिय योग अभ्यासक्रमका संयोजक सोनाम साथीले मन्त्री पोखरेललाई योगाभ्यास पुस्तिका हस्तान्तरण गरेका थिए । पुस्तिकामा योगाभ्यासका चरणहरु उल्लेख गरिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्