सभामुख चयनको सकसले ओली–प्रचण्ड सम्बन्ध बिग्रियो

Machchapuchchre

काठमाडौं । सभामुख चयनका विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच देखिएको असमझदारीले नेकपा उल्झनमा परेको छ ।

नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्षबीच कसलाई बनाउने भन्ने विषयमा सहमति नभएको र सचिवालय निर्णय गर्दा पनि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएपछि समस्या थप जटिल बनेको हो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहिरहेका छन् भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउन चाहिरहेका छन् ।

त्यसका लागि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय नै नेकपाले गरेको छ । नयाँ सभामुख चयनका लागि उपसभामुखलाई राजीनामा गराउने निर्णय भएको भएपनि तुम्बाहाङ्फेले भने त्यसलाई चुनौती दिएकी छिन् ।

उनले पार्टीले आफूलाई निर्देशन दिन नमिल्ने बताएकी हुन् । ‘एउटा संस्थाको प्रमुख पदमा बसेको व्यक्तिलाई निर्देशन जारी गर्न मिल्दैन’ उनले भनिन्,‘संस्थाको नेतृत्व तहमा बसेको व्यक्तिलाई कुनै एउटा दलले निर्देशन जारी गर्न सक्दैन, मिल्दैन ।’

उपसभामुख तुम्बाहाङ्फेले सभामुखमा आफ्नो दावेदारी पेश गर्दै आएकी छिन् र उनलाई राष्ट्रपतिबाट सद्भाव मिलेको नेकपाका प्रचण्डपक्षको आरोप छ भने प्रधानमन्त्रीसमेत मौन बसेको उनीहरुको आशंका रहेको छ ।

प्रचण्ड निकटका एक जना नेताका अनुसार बालुवाटरको दोहोरो भूमिकाका कारण समस्या परेको छ । प्रधानमन्त्री ओली उपसभामुखलाई राजीनामा गर्न नलगाएर प्रचण्डलाई गलाउने पक्षमा रहेको पूर्व माओवादी पक्षको आकलन रहेको छ ।

प्रचण्ड निकटका नेता हरिबोल गजुरेलले कसैप्रति लक्षित नगरी प्रचण्डलाई गलाउने राजनीतिका रुपमा उपभामुखको अडान रहेको संकेत गरे । उनले भने,‘ अहिलेसम्म धकाउने र गलाउने राजनीति मात्र भयो । अब परिस्थिति ‘क्लाइमेक्स’मा पुग्यो । निर्णय ६ गतेसम्म हुनैपर्छ ।

षड्यन्त्रपूर्वक ढंगले शक्ति केन्द्रीकरण गरेर अरुलाई नियन्त्रण गर्न खोजिएको छ । यो पार्टीको एकता, कम्युनिस्टको राजनीतिक भविष्य र नेपाली जनतामाथिको अविश्वास तथा घात हो । अबको सभामुख भनेको अग्नि सापकोटा नै हो ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्