Artharajniti ~ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन्। मंगलबार पेरिसडाँडामा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता घोषणामा बोल्दै संयोजक दाहालले अहिले मुलुक असाधारण संकटमा रहेकोले आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताएका हुन्। विगतमा विभिन्न कोणबाट एकता र सहकार्य गर्दा भोगेका उतारचढावहरूको आत्मसमीक्षा गर्दै मुलुकको स्वाधीनताको रक्षाका निम्ति फेरि एक पटक एकताबद्ध हुन जरूरी रहेको उनले बताए। ‘कम्युनिष्ट एकताको फेरि एउटा नयाँ कडी जोड्ने उद्घोष आज भएको छ। विगतमा साना–ठूला कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गर्ने पहल जो गरेका थियौँ, त्यसैको नयाँ कडीको रूपमा आज नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको बीचमा आज एकता घोषणा भइराखेको छ। यो अन्तिम फेरि होइन। हामीले अरू थुप्रैलाई पनि एकताबद्ध गर्न बाँकी छ। त्यसमा अघि नाम लिइयो, म फेरि पनि भन्न चाहन्छु- नेकपा एमालेदेखि हिजो माओवादी र एमालेका विभिन्न धारामा रहेका सबै समूहहरूलाई पनि एकताबद्ध गर्ने जिम्मेवारी तपाईं–हामी सबैको काँधमा छ,’ उनले भने। केपी शर्मा ओलीसहितलाई उनले एकताका लागि आह्वान गरे।



