Artharajniti ~ सन् २०२६ को पहिलो १० महिनामा हवाई मार्गबाट नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख नाघेको छ। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीदेखि अक्टोबरसम्म १० लाख ८ हजार ६ सय १६ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका छन्। तथ्यांकअनुसार अक्टोबरमा मात्रै १ लाख ३२ हजार ८ सय १४ जना पर्यटक नेपाल भित्रिएका छन्। यो सन् २०२६ का १० महिनामध्ये सबैभन्दा बढी पर्यटक आगमन भएको महिना हो। यसअघि मार्चमा १ लाख २० हजार ५ सय १६ जना पर्यटक आएका थिए। पर्यटक आगमनको मासिक प्रवृत्ति हेर्दा जनवरीमा ९२ हजार ५ सय ७३, फेब्रुअरीमा १ लाख ५ हजार ४ सय ४१, मार्चमा १ लाख २० हजार ५ सय १६ र अप्रिलमा १ लाख ७ हजार ९ सय ३४ जना पर्यटक आएका थिए। त्यस्तै, मेमा १ लाख २ हजार ६ सय २६ र जुनमा ९१ हजार ३ सय ६३ जना पर्यटक नेपाल भित्रिएका थिए।
वर्षायाम सुरु भएसँगै जुलाईमा पर्यटक आगमन घटेर ७६ हजार ३७ मा झरेको थियो। अगस्टमा ९१ हजार ५६ र सेप्टेम्बरमा ८८ हजार २ सय ५६ जना पर्यटक आएका थिए। त्यसपछि अक्टोबरमा आगमन उल्लेख्य बढेर १ लाख ३२ हजार नाघेको हो। पर्यटक आगमनको प्रमुख स्रोत मुलुकमा भारत पहिलो स्थानमा छ। पहिलो १० महिनामा भारतबाट १ लाख ८७ हजार १ सय ७२ जना पर्यटक नेपाल आएका छन्। त्यस्तै, चीनबाट ७७ हजार ५ सय ४१ र अमेरिकाबाट ६९ हजार ३ सय ४४ जना आएका छन्। यस अवधिमा बंगलादेशबाट ३२ हजार ३ सय ७४, बेलायतबाट ३१ हजार १ सय २० र अस्ट्रेलियाबाट ३० हजार ५० जना पर्यटक नेपाल आएका छन्। श्रीलंकाबाट १९ हजार ८३, मलेसियाबाट १५ हजार १ सय १७, जर्मनीबाट १५ हजार ६८ र जापानबाट १२ हजार ६ सय ६९ जना पर्यटक आएका छन्।



