Artharajniti ~ देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक सरेको छ। यसका कारण मुलुकभरको मौसममा बदली आएको छ। अहिले देशभर अधिकांश क्षेत्रमा बादल लागेको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि पानी परिरहेको महाशाखाले जनाएको छ।सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने देखिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। वर्षा र हिमपातको कुरा गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा पनि यस्तै मौसमी प्रणाली देखिने छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।
आजको मौसम : न्यून चापीय रेखा तराई नजिक, तीन प्रदेशमा भारी वर्षाको चेतावनी



