” एमालेले कांग्रेसको मुटुमा आक्रमण गरिरहेको छ ” : शेखर कोइराला

Machchapuchchre Bank

Artharajniti   ~  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा (एमाले) ले कांग्रेसको मुटु र मुख्य मूल्यमान्यतामा आक्रमण गरिराखेको बताएका छन्। ४३ औं विपी स्मृति दिवसमा मंगलबार काठमाडौंको बसुन्धारामा भएको गोष्ठीमा बोल्दै कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद विधेयकमा एमालेले कांग्रेसको मुख्य मूल्यमान्यतामा आक्रमण गरेको बताएका हुन्। ‘प्रतिनिधि सभाले संवैधानिक विधेयक पास गर्‍यो, हामीहरूले पास गर्‍यौं, राष्ट्रिय सभाले त्यसलाई परिमार्जन गरेर पठायो, हामीहरूले दुई दिन रोक्यौं, अनि कांग्रेसको प्रमुख सचेतकले ह्विप लगाउनुपर्‍यो, ह्विप लागेपछि हामीसँग उपाय छैन, हामीले गर्नैपर्छ। किन ह्विप लगाएको भनेर प्रश्न गर्ने कि नगर्ने यी कुरामा? यो मुद्दा त अदालतमा जान्छ-जान्छ, त्यति कुरा कांग्रेसका चिफलाई थाहा छैन? लगाउन हुन्थ्यो ह्विप? यो गम्भीर विषय छ। यो विषयले गर्दा कांग्रेसको मुटुमा, ‘कोरभ्यालु’मा एमालेले हामीहरूलाई आक्रमण गरिराखेको छ,’ कोइरालाले भने, ‘हामी चुपचाप लागेर बसिरहेका छौं, बिपी भएको भए यो कुरा स्वीकार गर्नु हुँदैनथ्यो, त्यो बुझौं हामीहरूले।’

सभापति शेरबहादुर देउवातर्फ लक्ष्य गर्दै कोइरालाले ‘निर्वाचन प्रणाली यस्तै छ, प्रधानमन्त्रीले जे भन्यो त्यो मानौं’ भनेर बिपी नहिँडेको समेत बताए।‘संवैधानिक परिषदमा त्यसरी हुँदैनथ्यो, भूमिसम्बन्धी विधेयक समितिमा जान्थ्यो, भ्रष्ट मन्त्रीहरू.. एक जनाले त राजीनामा दिनुभयो, अझै एक जना बाँकी हुनुहुन्छ, कांग्रेसका साथीहरू कति लाछी भइसकेका रहेछन्, एमाले कास्कीका जिल्ला समितिले भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्छ भनेको छ, तर हामी चुप लागेर बसेका छौं, योभन्दा लाछीपन के हुन्छ हाम्रो?’ कोइरालाले प्रश्न गरे, ‘कांग्रेस विचारमा कमी छैन, तर कांग्रेसको मूल्यमान्यतामा जबसम्म हामी अड्दैनौं यस्ता समस्या आइरहन्छ। म त सभापतिजी पूरै कार्यक्रममा बस्नुहोला भनेको जानुभयो।’उनले भूमि विधेयक आजको भोलि नै पारित गर्ने गरी एमालेले हतार गरिरहेको पनि बताए। कर्मचारीबाट राजीनामा वा अवकाशपछि दुई वर्ष कुलिङ पिरियड राख्ने सहमति भए पनि एमालेका सांसदहरूले राष्ट्रिय सभामा संशोधन हालेको प्रसंग पनि कोइरालाले निकाले।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्