सुन तस्करीमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारीकै मिलेमतो

Machchapuchchre

Artharajniti  ~  तस्करी गरेर ल्याएको सुन राख्न नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी र तस्करको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको अपांगमैत्री शौचालयभित्रको दराज प्रयोग हुने गरेको पाइएको छ । उक्त दराज खोल्ने दुईवटा चाबीमध्ये एउटा साँचो क्यानका कर्मचारी र अर्को सुन बोक्ने भरियाले लिने गरेको भेटिएको हो । उनीहरूकै सेटिङमा दराजमा राखिएको अवैध रूपमा ल्याएको सुन सीटीभीटी, प्रहरी र भन्सार कर्मचारीको पहुँच बाहिरको चोरबाटोबाट क्यानकै कर्मचारीले विमानस्थल बाहिर पुर्‍याउने गरेको समेत खुलेको छ । गत मंसिर २१ गते मध्यरात त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद भएपछि भन्सार विभागले गरेको अनुसन्धान र छानबिनमा व्यावसायिक व्यक्तिका लागि छुट्याइएको सीआईपी कक्षको शौचालयभित्र रहेको दराजमा यसअघि पनि पटक–पटक तस्करी गरेर ल्याएको सुन लुकाउने गरेको प्रमाण भेटिएको भन्सार विभागले जनाएको छ । सुन ल्याउन अह्राउने, ल्याउने र विमानस्थलबाट बाहिर निकाल्ने काममा सहभागी १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको विभागले जनाएको छ । दराजमा राखिएको सुन निकाल्न प्राधिकरणका ४ कर्मचारीको प्रत्यक्ष र ३ जनाको अप्रत्यक्ष रूपमा संलग्नता रहेको पाइएको छ ।

सरसफाइअन्तर्गतका सिनो व्यवस्थापन गर्ने कर्मचारी रमेश देउलाले फोहोर संकलन स्थलमा पुर्‍याइएको सुन अर्का भरिया डीबी भनिने धनबहादुर गुरुङलाई जिम्मा लगाउने गरेको पाइएको छ । लमजुङका धनबहादुर भने फरार छन् । भन्सारले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डे, सरसफाइकर्मी मोहन चेपाङ र कपिल ओझालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको स्रोतले जनायो । सुन तस्करीबारे छानबिन गर्न विभागले निर्देशक मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो । विभागका महानिर्देशक शोभाकान्त पौडेलले सकभर धेरै प्रमाण जुटाउने काम भइरहेको बताए । ‘गहिराइसम्म पुगेर तस्करीको जरासमेत पत्ता लगाउने प्रयासमा छौं, अनुसन्धान जारी छ,’ पौडेलले भने । मंसिर २१ गते गोरखाका चन्द्र घलेले ज्याकेटभित्रको कपडामा लुकाएर ल्याएको १४ किलो सुन भेटिएको थियो । सुन ल्याउन उनलाई गोरखाकै मीनबहादुर घलेले दुबई पठाएका थिए ।

मीनबहादुरमाथिको अनुसन्धान क्रममा स्याङ्जाका कृष्णकुमार श्रेष्ठले पनि अवैध सुन ल्याउने गरेको भेटिएको हो । उनलाई पनि मीनबहादुरले टिकट र भिसासहित दराजको चाबी दिएर दुबई पठाउने गरेको ती सदस्यले बताए । ‘कृष्णकुमारलाई पक्राउ गरेर सोधपुछ गर्दा यसअघि पनि दुबईबाट १४ किलोको दरले ७ पटक सुन ल्याएको स्वीकार गरेका छन्,’ उनले भने, ‘चन्द्रले राखेको शौचालयको दराजमा उनले पनि सुन राख्ने र चाबी लगाएर हिँड्ने गरेको पाइएको हो ।’ एक वर्षयता चन्द्र ५ पटक र कृष्णबहादुर १३ पटक दुबई आउजाउ गरेको स्रोतले जनायो । धनबहादुर, रमेश र लेकबहादुरले २०७५ सम्म काठमाडौंको गोंगबु क्षेत्रमा मिलेर होटल सञ्चालन गरेको र त्यही सम्बन्धका आधारमा तस्करीमा संलग्न भएको हुन सक्ने भन्सार अधिकारीको आशंका छ । उक्त समूहले लामो समयदेखि विमानस्थलको उक्त चोरबाटो हुँदै १० वर्षदेखि सुन तस्करी गर्दै आएको हुन सक्ने ती अधिकारीको अनुमान छ । एक पटक सुन ल्याउँदा तस्करले प्राधिकरणका कर्मचारीलाई १ लाख १५ हजार रुपैयाँ दिने गरेको समेत छानबिनमा खुलेको छ । त्यो रकममध्ये लेकबहादुर र राधाकृष्णले ४०/४० हजार, शेरबहादुरले १० हजार र रमेशले २५ हजार बाँडीचुँडी लिने गरेको बयानका क्रममा भनेको स्रोतले जनायो ।चन्द्रले भने एक पटक दुबई गएर सुन ल्याउँदा ६० हजार र कृष्णकुमारले ९० हजारदेखि १ लाखसम्म पाउने गरेको स्वीकार गरेका छन् । छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार पारिसकेको छ । अन्तिम प्रतिवेदन आएपछि मुद्दा दर्ता आरोपितहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने महानिर्देशक पौडेलले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्