अर्थ राजनीति ~ नेपाल विद्युत प्राधिकरणले आज शनिबार काठमाडौंका ८ ठाउँमा ५ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । विद्युत प्राधिकरणले सूचना जारी गरी आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत पर्ने टेकु सबस्टेसन स्तरोन्नतिको लागि चार्जको काम भइरहेकाले विद्युत् आपूर्ति बन्द हुने भएको हो । टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौँका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।
यस्तै सम्बन्धित टेकु, बालाजु, केटू र केथ्री सब स्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको हो । आज विद्युत् अवरुद्ध हुने क्षेत्रमा बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर, ज्ञानोदय, गाई बाच्छा पाटी, स्वयम्भू, सानो भर्याङ छन् ।
त्यस्तै स्वयंभू बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड आदि क्षेत्रमा पनि विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउराली क्षेत्रमा पनि आज पाँच घण्टा विजुली जाने छ।