प्रचण्ड : ” भ्रष्टाचारमा सम्झौता गर्दिनँ, त्यसो गर्नुभन्दा सरकार छाड्नु लाभदायी हुन्छ “

Machchapuchchre

अर्थ राजनीति  ~ प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारको विषयमा कुनै पनि हालतमा सम्झौता नगर्ने दोहोर्‍याएका छन्।बुधबार बिहान माओवादी केन्द्रसम्बद्ध पत्रकारहरूको संस्था प्रेस सेन्टरको प्रतिनिधिमण्डले समानुपातिक विज्ञापन वितरण प्रणाली लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थियो।त्यही भेटमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारकाविरूद्ध संघर्ष गर्ने तर सम्झौता नगर्ने बताएका हुन्।‘भ्रष्टाचारकाविरूद्ध हामीले कडा कदम चाल्दै गएका छौं,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै प्रेस सेन्टरका एक सदस्यले भने ‘तपाईंहरू ढुक्क के हुनूस् भने, त्यहाँ कहीँ कतै नरम हुने, यताउता गर्ने भन्ने छैन बरू सरकार गए जान्छ भन्नेसम्म सोचिएको छ।’ प्रेस सेन्टरका प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय, पद्धति, परम्परा, मूल्य सबै नाघेर दुःख दिने नियतले अघि बढेकाे बताएका थिए।ऊर्जा व्यापार, पारवहन आदि सम्झौताका दृष्टिले भारत भ्रमण सफल हुँदाहुँदै १५ वटा भैंसी ल्याएको भन्नेजस्ता गैरराजनीतिक टिप्पणी गरेर केपी ओली नग्न रूपमा प्रकट भएको प्रधानमन्त्री प्रचण्डको बुभाइ रहेकाे एक नेताले बताए।‘मैले सबैकुराको जवाफ दिन्छु भनेर गएको छु, तलका मानिसलाई बोल्न दिने काम पनि भयो सभामुखबाट। हुँदै नहुने कुरा थियो त्यो। मैले बोलिराखेको छु। मैले बोलिसकेपछि प्रतिवाद गर्ने कुरा त हुन्थ्यो। हामीलाई नंग्याउन खोजेका थिए, उनीहरू आफैं नराम्रोसँग नांगिए। सदनमा त्यसरी प्रस्तुत हुनु लोकतान्त्रिक विधि होइन। संस्कृति, सभ्यता, नैतिकता केही पनि रहेनछ भनेर छ्यांगै देखियो। तर, देखिएको कुराको जति प्रचार हुनुपर्ने त्यति हुन सकेन,’ प्रधानमन्त्रीले भनेको कुरा उद्धृत गर्दै एक सदस्यले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्