अर्थ राजनीति ~ एकाबिहानै बन्दीपुर बजारको एउटा पसलमा छिर्दा उनी मोबाइलमा टिकटक भिडिओ स्क्रोल गर्दै थिइन्। हामीलाई देखेर थोरै लजाइन्।उनले अप्ठ्यारो मानेको चाल पाएर हामीले सिधै तनहुँ क्षेत्र नम्बर १ को चुनावी हालचालबारे कुराकानी सुरू गर्यौं। उनी हुन् बन्दीपुर गाउँपालिका–४ की ईश्वरी श्रेष्ठ। उनी अघिल्लो दिन मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने र स्वर्णिम वाग्ले चुनावी प्रचारमा बन्दीपुर आएका छन् भन्ने सुनेर ताजा फूलको माला र खादा बोकेर होटलमै भेट्न गएकी थिइन्। तर, रवि आएका रहेनछन्। उनी थोरै निराश त भइन् तर स्वर्णिमलाई देखेर उत्साहित हुँदै माला र खादा पहिर्याइदिइन्। स्वर्णिमसँग फोटो पनि खिचाइन्।ईश्वरीले गत मंसिर ४ को आमनिर्वाचनमा पनि रास्वपालाई घन्टी चिह्नमा मतदान गरेकी थिइन्। त्यति बेला रास्वपाका उम्मेदवार को थिए भन्ने उनलाई सम्झना छैन। यसपालि चाहिँ उनले उम्मेदवार मात्र चिनेकी छैनन्, यी उम्मेदवारलाई किन भोट हाल्ने भन्नेमा पनि उनको विचार छर्लंग छ। ‘२३ वर्षको मेरो छोरा दुबई गएको नौ महिना भयो। यो देशमा हामीजस्तालाई गरिखाने वातावरण भइदिएको भए ऊ किन विदेश जानुपर्थ्यो!’ ईश्वरीले भनिन्, ‘स्वर्णिम वाग्ले अर्थविद् हुनुहुन्छ। पिँधमा पुगेको देशको आर्थिक अवस्था उकास्न उहाँले केही न केही त उपाय लगाउनुहोला, ताकि म मेरो छोरालाई सधैं आफ्नै आँखाअगाडि देखिरहन पाऊँ।’उता भानु नगरपालिकाका ६४ वर्षीय तालिमबहादुर गुरूङले अघिल्लो चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई भोट हालेका थिए। उनी पनि यसपालि घन्टी चिह्नमा वाग्लेलाई मतदान गर्दैछन्।अघिल्लो चुनावमा चितवनबाट विजयी रवि लामिछानेलाई राजनीतिक दलहरूले काम गर्न नदिएको र नागरिकता प्रकरणमा फसाएको उनको आरोप छ। उनी भन्छन्, ‘अरू पार्टीहरूले साँठगाँठ गरेर रविलाई घाइते बनाए। त्यसैले यसपालि झन् बलियो बनाएर पठाउने हो।’बन्दीपुर गाउँपालिका-५ की सुनीता श्रेष्ठले भने अघिल्लोचोटि नेकपा एमाले उम्मेदवार एकबहादुर राना मगरलाई भोट हालेका थिए। उनी अब घन्टी चिह्नमा भोट हाल्ने निधो गरेर बसेकी छन्।’मैले दल बदलेको होइन, मत बदलेको हो,’ ३६ वर्षीया सुनीताले भनिन्, ‘म रवि सरको कार्यक्रमको फ्यान हुँ। उहाँलाई टिभीमा देख्दा नै यस्तो मान्छे त पार्टी खोलेर राजनीतिमा आए हुन्थ्यो नि भनेर श्रीमानलाई भनिरहन्थेँ।’उनले अगाडि भनिन्, ‘अघिल्लोचोटि पनि म घन्टीलाई नै भोट हाल्थेँ होला, तर त्यति बेला तनहुँ–१ मा घन्टीको उम्मेदवार छ भन्ने नै थाहा भएन। मत गणनापछि पो थाहा पाइयो। त्यति बेला घन्टीलाई भोट हाल्न नपाएको पछुतो यसपालि पूरा गर्दैछु।’अघिल्लो चुनावमा अलग–अलग दलमा भोट हालेका ईश्वरी, तालिमबहादुर र सुनीताको भनाइले तनहुँ क्षेत्र नम्बर १ को अहिलेको चुनावी परिदृश्य झल्काउँछ।हामीले पछिल्ला चार दिनमा तनहुँ-१ मा पर्ने व्यास र भानु नगरपालिकाका सबै वडा, बन्दीपुर गाउँपालिकाका सबै वडा र देवघाट र आँबुखैरेनी गाउँपालिकाका आधाभन्दा बढी वडामा भ्रमण गरेर ७५५ जना मतदातालाई भेटेका छौं।यी मतदातासँगको कुराकानीबाट हामी के निष्कर्षमा पुगेका छौं भने यसपालि तनहुँ–१ को उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले आफ्ना पुराना मतदाता जोगाउन सक्ने छैनन्। अघिल्लोचोटि कांग्रेसका रामचन्द्र पौडेललाई भोट हालेकामध्ये झन्डै ४० प्रतिशतले रास्वपाका स्वर्णिम वाग्लेलाई भोट हाल्ने बताए भने अघिल्लोचोटि एमालेका एकबहादुर राना मगरलाई भोट हालेकामध्ये झन्डै आधाले वाग्लेलाई भोट हाल्ने निधो गरेको सुनाए। हामीले कुराकानी गरेका ७५५ जना मतदातामध्ये रास्वपाका स्वर्णिम वाग्लेलाई भोट दिन्छु भन्नेहरू ३६६ जना अर्थात् ४८.५ प्रतिशत छन्। त्यस्तै, कांग्रेसका गोविन्द भट्टराईलाई मत दिन्छु भन्नेहरू २१९ जना छन्। यो हामीले भेटेका मतदाताको २९ प्रतिशत हो। तेस्रो स्थानमा देखिएका एमालेका सर्वेन्द्र खनाललाई हामीले भेटेकामध्ये ७७ जनाले मात्र भोट हाल्ने बताए। यो भनेको १०.२ प्रतिशत हो। यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेसनल अर्गनाइजेसन लगायतलाई भोट हाल्छु भन्ने मतदाता हामीले नगन्य मात्र भेट्यौं। हामीले कुराकानी गरेकामध्ये ९० जना अर्थात् ११.९ प्रतिशत मतदाता अहिलेसम्म कसलाई भोट हाल्ने भन्नेमा अनिर्णित छन्। यी अनिर्णित मतदाता कांग्रेस, एमाले र घन्टी गरी तीनैतिर बाँडिने छन्।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति