अर्थ राजनीति ~ विगतमा आँखा चिम्लेर जथाभाबी लगानी गर्ने, बैंक सञ्चालक र कर्मचारीहरूको मिलेमतोमा जोखिमपूर्ण लगानी गर्दै आएको एनआईसी एशिया बैंकले अर्को अनौठो हर्कत गरेको छ । यस बैंकले ऋणीबाट ऋण असुल्न कम्पनी रजिष्ट्रार कार्यालयलाई पत्रचार गरेको तथ्य फेला परेको छ । ऋण असुली न्यायाधिकरणमा पनि ऋण असुल्न मुद्दा हाल्नेको पहिलो नम्बरमा रहेको एनआईसी एशिया बैंकले कम्पनी रजिष्ट्रार कार्यालयलाई लगभग एक सय वटा पत्र पठाएको छ । रोचक त के छ भने सो पत्रको ब्यहोरा अदालतको आदेश जस्तो छ । जसको विषयको ब्यहोरा नै यस प्रकार छ: बैंकको सम्पूर्ण कर्जा चुक्ता भुक्तान नभएसम्मको लागि कालोसूचीमा समावेश ऋणी/कम्पनी/सञ्चालक/जवानीकर्ता/शेयरधनीको शेयरहरू हस्तान्तरण/कारोबार, कम्पनी अद्यावधिक, कम्पनीको सञ्चालक अद्यावधिक, प्रबन्ध पत्र/नियमावली, संशोधन, अद्यावधिक, निजहरूको लगानीमा नयाँ कम्पनी दर्ता लगायतका कामहरू रोक्का गरिपाऊँ ।
यो पत्र देखेर कम्पनी रजिष्ट्रारका हाकिमहरू नै छक्क परेका छन् । उनीहरू भन्छन्, ‘यो अनुरोध हो की आदेश हो ?’ विगतमा कहिले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट यस प्रकारका पत्रहरू नआएको बताउँदै कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार्ड महेश बराल भन्छन्, ‘यस्तो पत्र कसैको कहिले आएको पनि थिएन । लिएका पनि थिएनौँ । कानुन अनुसार हामीले आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्ने हो । तपाईँहरूले भनेजस्तो हुँदैन भन्ने जवाफ दिएका छौँ ।’ ‘तथापि पत्र आइसकेपछि कुरा के हो ? समस्या के हो ? बुझौँ भनेर ऋणीलाई लिएर तपाइहरू पनि आउनु होस् भनेर भनेका थियौँ अहिलेसम्म आएका छैनन’, उनले भने । यसबारे आर्थिक न्युजको जिज्ञासामा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले कुनै पनि प्रतिक्रिया दिन चाहेनन् । तर, उक्त बैंकका प्रमुख व्यापार अधिकृत अर्जुनराज खनियाले भने ऋण दिने बेलामा नै सबै कुरामा ल्याप्चे र सहिछाप हानेर दिने गरेको बताए । उनले भने, ‘के के प्रक्रिया अगाडी बढाउने भन्ने सबै अधिकार बैंकलाई हुन्छ । हामीले ऋण दिँदा सबै कागजमा ऋणीसँग पहिले नै सहीछाप गराएका हुन्छौँ ।’ आफूखुसी खराब लगानी गर्ने र अहिले खराब कर्जाको मात्रा अत्यधिक देखिएपछि एनआईसी एशिया बैंकको व्यवस्थापन पक्ष रन्थनिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयलाई पत्र नै लेखेको विषयलाई धेरै विश्लेषकहरूले बैंक व्यवस्थापन पक्षको विवेक नै कमजोर बनेको रूपमा समेत लिएका छन् ।