अर्थ राजनीति ~ नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरिरहेको आरोप लगाएका छन् । प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्डले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गरिरहेको टिप्पणी गरे । ‘देशमा राजनीतिक अस्थिरता निम्त्याउने, अन्यौलता निम्त्याउने बर्बादीको दिशातिर लैजाने कामको नेतृत्व देशभित्र र बाहिर रहेका विभिन्न शक्तिकेन्द्रको आडमा वा उनीहरुको स्वार्थलाई सेवा पुर्याउने गरी उहाँले भूमिका निर्वाह गर्नुभएको छ’ उनले भने । नेकपा एमालेसँग मिलेर माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपनि २ महिना बित्न नपाउँदै सहमतिलाई तोडेर प्रचण्डले अवसरवाद देखाएको विष्टले बताए । ‘यो अवसरवाद राष्ट्रको समृद्धि, जनताको जीवन रुपान्तरणको लागि नेपालको राजनीतिमा प्रगतिको कालो बादलको रुपमा देखापरेको छ’ उनले भने । नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका पार्टीहरुले नेकपा एमालेका विरुद्ध बनाएको समीकरणको आयु धेरै लामो नभएको विष्टले बताए । कुनै नीति, सिद्धान्त, विचार र निश्चित मापदण्ड बिना बनेको यस्तो गठबन्धन भत्किएर नयाँ प्रकारका अवस्थाहरु देखापर्ने उनले बताए । नेकपा एमालेलाई कमजोर बनाउनका लागि कसैले अह्राएको वा सिकाएको आधारमा अरु दलहरु एक ठाउँमा आएको उनको भनाइ छ । सचिव विष्टले एमाले र कांग्रेस मिलेर सरकार बन्ने परिस्थिति तत्काल नरहेको पनि बताए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति