बैंकमा निक्षेप बढ्यो तर गर्न सकेनन् लगानी

Machchapuchchre

अर्थ राजनीति  ~  पुष महिनामा बैंकहरुमा निक्षेप उल्लेख्य रुपमा जम्मा भइरहेको छ । तर, बैंकहरुले खुलेर लगानी गर्न भने अझै पनि सकिरहेका छैनन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको निक्षेप र लगानी सम्बन्धी पछिल्लो साप्ताहिक तथ्यांकले यस्तो देखाएको हो । यो हप्ता वाणिज्य बैंकहरुमा २० अर्ब रुपैयाँ निक्षेप जम्मा हुँदा ८० करोड रुपैयाँ मात्र बैंकहरुले लगानी गरेका छन् । स्वभाविक रुपमा पनि पुस महिनामा बैंकिङ प्रणालीमा बढि पैसा आउँछ । त्रैमासिक रुपमा ऋणीहरुले तिर्नुपर्ने रकमदेखि सबै कम्पनीहरुले भुक्तान गर्ने आयकर र अन्य राजस्वहरु समेत यो महिनाभित्रमा बुझाइसक्ने हुँदा बैंकहरुमा पैसा बढ्छ । तर, यसैका आधारमा लगानीयोग्य रकम बढ्ने अवस्था भने देखिएको छैन । त्यसमाथि यसै महिनादेखि लागु भएको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनले बैंकहरुलाई जथाभावी लगषनी गर्नबाट रोकेको छ । नयाँ उद्योग धन्दा खुल्ने भन्दा चलिरहेका उद्योग व्यापारमा नै लगानी थप गर्नुपर्ने अवस्थामा रहेका उद्योगी व्यापारीहरुले मागेजति चालुपुँजी कर्जा बैंकहरुले दिन पाउँदैनन् ।विगतमा हौसिएर लगानी गर्दा तरलता अभावको समस्या लामो कालखण्डसम्म भोग्नुपरेको कारण पनि हुनसक्छ बैंकहरुले उत्साहपूर्ण लगानीका लागि त्यत्ति इच्छा देखाएका छैनन् । त्यसैकारण पनि २० अर्ब रुपैयाँको निक्षेप बढ्दा एक अर्ब रुपैयाँमा पनि लगानी गर्न बैंकहरु असक्षम देखिएको हो । वाणिज्य बैकहरुमा अघिल्लो महिनादेखि निक्षेपमा वृद्धि हुँदै गर्दा तरलता सहज हुने आशा र चर्चा चलिरहेको छ । नेपाल बैंकर्स संघका अनुसार पुस १ गतेदेखि ८ गतेसम्म बैंकहरुमा २० अर्ब रुपैयाँ निक्षेप थपिएर ४६ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । उक्त निक्षेप पुस १ गतेसम्म ४६ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुले ४२ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । पुस १ गतेसम्म बैंकहरुले ४२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्