अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” तेस्रो पटक प्रधानमन्त्री

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम आइतबार साँझ दाहाललाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ,’ राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।दाहाल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । यो दाहालको तेस्रो कार्यकाल हो । यसअघि उनी २०६५ र २०७३ मा प्रधानमन्त्री बनेका थिए ।दाहालले आइतबार प्रधानमन्त्री पदका लागि आफूलाई माओवादीसहित सात दल र तीन जना स्वतन्त्र सांसदको समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्तुत गरेका थिए । त्यसपछि राष्ट्रपति भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नआएपछि राष्ट्रपति भण्डारीले एक साताअघि संविधानको धारा ७६ को उपधारा २ बमोजिम राजनीतिक दलहरुलाई सरकार गठन गर्न आह्वान गरेकी थिइन् । नवनियुक्त प्रधानमन्त्री दाहालले आज सोमबार दिउँसो ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

आइतबार बिहानसम्म वर्तमान सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी सरकार गठनका लागि घनिभूत छलफलमा थिए । तर अड्किएको थियो पदको भागवण्डामा । माओवादीले प्रधानमन्त्री दाबी गरेको थियो भने कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवैको अडान छाडेको थिएन ।फलतः बालुवाटार गठबन्धन टुट्यो र प्रचण्ड उछिट्टिएर बालकोट पुगे । एमाले अध्यक्ष केपी ओलीले गठबन्धन छाडेर आए माओवादीसँग सहकार्य हुन सक्ने बताइसकेका थिए । प्रचण्ड सिधै बालकोट पुगे । त्यहीँ भेला भए अन्य साना पाँच दलका प्रमुख । बालकोट बैठकले प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री बनाउने निर्णय गर्‍यो । १६९ जना सांसदको समर्थनमा प्रचण्डले आइतबार पाँच नबज्दै राष्ट्रपतिसमिक्ष प्रधानमन्त्रीको दाबी पेश गरे ।एकाध घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरिन् । यसरी सात ७ दल र तीन स्वतन्त्र सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बनेका छन् प्रचण्ड । यो उनको तेस्रो सत्ता यात्रा हो । संसद् मा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् । सात दलबीच भएको सहमतिअनुसार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड आधा–आधा कार्यकाल प्रधानमन्त्री हुनेछन् । उनीहरूले लिखित रूपमा भने सहमति गरेका छैनन् ।प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्