कात्तिक महिनामा बैंकको निक्षेप २२ अर्बले बढ्यो, कर्जा ३ अर्ब घट्यो

Machchapuchchre

अर्थ राजनीति  ~  कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ । कात्तिक ४ गतेको तुलनामा कात्तिक ३० गते बैंकहरुमा रहेको निक्षेप २२ अर्ब रुपैयाँले बढेको देखिएको हो । वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैकर्स संघले दिएको जानकारी अनुसार कात्तिक ४ गते ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो । गत कात्तिक ३० गते वाणिज्य बैंकहरुमा यस्तो निक्षेप बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको हो । निक्षेप बढेको देखिए पनि कर्जा प्रवाह भने घटेको छ । कात्तिक ४ गतेसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । गत कात्तिक ३० गतेसम्ममा वाणिज्य बैंकहरुबाट भएको कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रुपैयाँ छ । एक महिनाको अवधिमा वाणिज्य बैंकहरुबाट प्रवाह भएको कर्जा ३ अर्ब रुपैयाँले घटेको हो । मासिक रुपमा हेर्दा बैंकहरुमा निक्षेप बढेको देखिए पनि यो महिना निक्षेप बढ्ने र घट्ने क्रम जारी रहेको तथ्यांकले देखाएको छ । कात्तिक ४ गतेसम्ममा बैंकहरुका ४५ खर्ब ४१ अर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा कात्तिक ११ गते घटेर ४५ खर्ब २४ अर्ब रुपैयाँमा सिमित भएको थियो । यस्तै, कात्तिक १८ गते बढेर ४५ खर्ब ४५ अर्ब रुपैयाँ र कात्तिक २५ गते ४५ खर्ब ४६अर्ब रुपैयाँ निक्षेप पुगेकोमा कात्तिक ३० गते बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्