कामपाले अझै फोहोर फाल्ने वैकल्पिक ठाउँ खोज्न सकेको छैन

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई सहरभित्रै नै विसर्जन गर्ने घोषणा गरेको छ ।

कामपाले हालसम्म उपत्यकाबाट उत्पादित बायोडिग्रेडेबल फोहोर फाल्ने पाँच स्थानको पहिचान गरेको छ ।

तर, प्रस्तावित डम्पिङ साइटका स्थानीयवासी भने यस विषयमा सकारात्मक नभएकाले प्रक्रिया अलपत्र परेको कामपाका मेयर बलेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्सालले बताए ।

उपत्यकाबाट उत्पादित फोहोर फाल्नका लागि पाँच क्षेत्रका ५० देखि १५० रोपनी जग्गा पहिचान गरिएको उनले बताए ।

बायोडिग्रेडेबल फोहोरबाट मल बनाउने प्रस्तावित ल्यान्डफिल साइटका स्थानीयवासीले जनचेतना जगाउनुपर्नेमा लम्सालले जोड दिए ।

घोषणाअनुसार कामपाले भदौ मसान्तदेखि कीर्तिपुरमा बायोडिग्रेडेबल फोहोर फाल्ने योजना बनाएको थियो । तर, विभिन्न कारणले कार्यान्वयन हुन नसकेको कामपाले जनाएको छ ।

तर, दुई महिनादेखि काठमाडौं उपत्यकाका सबै ठाउँमा थुप्रिएको फोहोर संकलन र नष्ट हुन सकेको छैन ।

काठमाडौं, धादिङ र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी र ल्यान्डफिल साइट (सिसडोल र बञ्चरेडाँडा) प्रभावित स्थानीयवासीबीच चारबुँदे सहमति भएपछि मात्र कामपाले फोहोर सङ्कलन र डम्पिङ सुरु गरेको हो ।

तर, दिर्घकालिन समाधान नभएको र तीन महिनापछि काठमाडौं उपत्यकाबाट सङ्कलन गरिएको फोहोरलाई प्रभावित स्थानीयले विसर्जन गर्न नदिने सम्झौतामा उल्लेख छ ।

त्यसैले कामपाले अन्य क्षेत्रमा डम्पिङ साइटको खोजी र पहिचानलाई निरन्तरता दिई दिगो समाधान खोजिरहेको लम्सालले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्